काठमाडौँ । चालु आर्थिक आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले राजस्व संकलन लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । साउनदेखि पुस मसान्तसम्म सरकारले कुल ५ खर्ब ७६ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा १०३ प्रतिशत प्रगति हो ।
यस अवधिमा ५ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । यसमध्ये अन्तःशुल्कबाट मात्र ८५ अर्ब भन्दा माथि राजस्व उठेको छ । यस्तो राजस्व अन्तःशुल्कमा दर्ता भएका मदिरा, वियर, चुरोट तथा अन्य सुर्तीजन्य पदार्थमा लाग्ने शुल्कबाट संकलन हुन्छ । साथै यस्तो वस्तुको पैठारीमा समेत अन्तःशुल्क लाग्ने गर्छ ।
अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार पहिलो ६ महिनामा आन्तरिक उत्पादनतर्फ ५० अर्ब ७२ करोड र पैठारीतर्फ ३४ अर्ब ५१ करोड गरी कुल ८५ अर्ब २३ करोड अन्तःशुल्क राजस्व उठेको हो । यो वर्ष आन्तरिक उत्पादनतर्फ उठेको अन्तःशुल्क गत आवको यसै अवधिको तुलनामा ३४.०४ प्रतिशत बढी हो ।
समग्र अन्तःशुल्कमा ४३ प्रतिशतको वृद्धि देखिएको अर्थ मन्त्रालयले जनाएको छ । नेपालको कर संकलनमा अन्तःशुल्कको हिस्सा १७.०६ प्रतिशत रहेको देखिन्छ ।
20.33¡ÆC