बेलकोटगढीले बालबालिकालाई दोश्रो डोज र अग्रपक्तिमा खटिने र ज्येष्ठ नागकिरलाई बुस्टर डोजको खोप लगाउने

माघ ९, २०७८ मा प्रकाशित | 839 views

बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकाले बालबालिकालाई कोरोना रोग विरुद्धको दोश्रो डोज र अग्रपक्तिमा खटिएका तथा ज्येष्ठ नागरिकलाई अतिरिक्त खोपको रुपमा बुस्टर डोजको खोप लगाउने भएको छ ।
१२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई यही माघ १२ र १३ गते कोरोना रोग विरुद्धको दोश्रो डोजको खोप लगाउन लागिएको नगरप्रमुख राजेन्द्ररमण खनालले जानकारी दिनुभएको छ । उहाँको अनुसार यसअघि मोडर्ना कम्पनीको पहिलो डोजको खोप लगाएका बालबालिकालाई लक्षित गर्दै नगरपालिका भित्रको विभिन्न ११ वटा स्वास्थ्य सँस्थाबाट कोरोना रोग विरुद्धको खोप लगाउनको लागी आवश्यक तयारी मिलाउन भनिएको छ ।


यसैगरी, यसअघि कोभिशिल्ड र भेरोसेल कम्पनीको पूर्ण मात्राको खोप लगाएका व्यक्तिहरुलाई अतिरिक्त खोपको रुपमा माघ १४ गते बुस्टर डोजको खोप लगाउन लागिएको स्वास्थ्य तथा सामाजिक शाखाका प्रमुख सत्येन्द्र शाहले जानकारी दिनुभएको छ । उहाँको अनुसार बुस्टर डोजको खोप लगाउनको लागी यसअघि दोश्रो मात्राको खोप लगाएको ६ महिना पूरा भएको हुनुपर्ने भनिएको छ । त्यसको लागी साउनको दोश्रो सातासम्ममा दोश्रो डोजको खोप लगाएका व्यक्तिहरुलाई बुस्टर डोजको खोप लगाउन लागिएको हो ।


बुस्टर डोजको खोपसेवा विशेष गरेर कोरोना रोग विरुद्धको रोकथामको लागी अग्रपक्तिमा खटिएको चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी सहित ज्येष्ठ नागरिकहरुको लागी समेत लक्षित गरेर सञ्चालन गर्न लागिएको छ ।
खोप कार्यक्रम वडा नं. २ र ३ को लागी कुमरी स्वास्थ्य चौकीमा र वडा नं. ४ र ६ को लागी दुईपिपल स्वास्थ्य चौकीमा सञ्चालन गर्न लागिएको छ । बाँकी रहेका वडामा भने आ–आफ्नो वडामा रहेको स्वास्थ्य सस्ँथामा नै खोप सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको बेलकोटगढी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web