स्रोत नखुलेको १० लाख भारुसहित दुई भारतीय नागरिक पक्राउ

माघ ७, २०७८ 2022-01-21 मा प्रकाशित
Published at 2022-01-21

743 views

महोत्तरी । महोत्तरीबाट स्रोत नखुलेको भारतीय रकम र नक्कली नेपाली रुपैयाँको नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई जिल्लाको छुट्टा–छुट्टै ठाउँबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

भारतीय सीमावर्ती भिठामोडबाट झण्डै रु. १० लाख भारतीय रुपैयाँ र चार वटा भारतीय बैंकको चेकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला सुरसन्ड ६ बस्ने ३९ वर्षीय उदयकुमार साह छन् ।

भारतबाट नेपाल आएका उनको साथबाट रु. ९ लाख ९७ हजार ९ सय ५० भारु र एचडीएफसी बैंकको ४ थान चेक बरामद भएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए । उनका अनुसार चार वटै चेकमा रु. २ लाख ४० हजार रकम लेखिएको छ ।

पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, मटिहानी नगरपालिका ३ स्थित एक पेट्रोल पम्पमा आएका एक जना भारतीय नागरिकलाई रु. २ हजार नक्कली नेपाली नोटसहित पक्राउ गरिएको छ ।


पक्राउ पर्नेमा बीआर३०ए २४०३ नम्बरको मोटरसाइकलमा आएका सितामढीको देआराबारी निवासी ४० वर्षीय नुरुल होदा छन् । उनको साथबाट नेपाली रु. १ हजार दरको एउटै सिरियल नम्बर भएको नक्कली नोट फेला परेको बिष्टले बताए ।

उनलाई नियन्त्रणमा लिई खोटा चलन मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.