रसुवागढी नाकाबाट विद्युतीय गाडीको आयात बढ्यो

मंसिर २८, २०७८ मा प्रकाशित | 471 views

टिमुरे । चीनसँगको व्यापारिक नाका रसुवागढीबाट विद्युतीय गाडीको आयात बढेको छ । यातायातको पहुँचलाई सहज बनाउनका लागि नेपाली व्यापारी, व्यवसायीले चिनियाँ विद्युतीय गाडीको आयात गरिरहेका छन् ।

२०७५ चैतदेखि २०७८ मङ्सिर २७ गतेसम्म तीन सय १८ वटा विद्युतीय गाडी आयात भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम मैनालीले बताउनुभयो । आयात गरिएका गाडीमध्ये ५४ वटा डबल क्याबिन पिकअप र दुई सय ६४ वटा कार रहेका छन् ।

आवाज र धुँवारहितका चिनियाँ कार नेपाल भित्रिएको हो । नाकाबाट आयात भएका ती गाडी भन्सार प्रक्रिया पूरा गरेर काठमाण्डौ पठाइएको प्रमुख भन्सार अधिकृत मैनालीले उहाँले बताउनुभयो । आवाज र धुँवारहित ती कारले सवारी प्रदूषणमा न्यूनीकरण गर्ने र यात्रामा सहज हुने कार्यालयले जनाएको छ ।

२०७६ माघयता नाकाबाट सामग्रीको आयात निकै कम भएको छ । २०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो हप्तासम्म नाका बन्द गरिएको थियो । अहिले एकतर्फी रूपमा नाका सञ्चालन भइरहेको छ । चीनबाट तयारी अवस्थाका, विद्युतीय, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुढा, काठको कुर्सी, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ ।

२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी गाडी आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र गाडीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दुरी पार गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web