कोभिड १९ को असरले बालबालिकामा मानसिक समस्या बढ्दै

अशोज २१, २०७८ मा प्रकाशित | 621 views

काठमाडौँ । कोभिड-१९ महामारीकालमा धेरै बालबालिकामा मानसिक स्वास्थ्य समस्या देखिएको पाइएको छ । नेपालभित्र र विश्वभर भएका यस्ता अध्ययनमा कोरोना महामारीका कारण बालबालिकाले केही वर्षसम्म परिवार, साथी, कक्षाकोठा र खेलकुदजस्ता महत्वपूर्ण विषयबाट टाढा रहनुपरेको देखिएको छ ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले सन् २०२१ को अक्टोबर महिनामा सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वभर ७ जनामध्ये कम्तीमा १ जना बालबालिका लकडाउनबाट प्रभावित भएका छन्, १ अर्ब ६० करोड भन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएका छन् । अस्तव्यस्त दिनचर्या, शिक्षा, मनोरन्जन, पारिवारिक आय र स्वास्थ्यको चिन्ता आदि कारणले धेरै युवाले डर, क्रोध र आफ्नो भविष्यप्रति चिन्ता महसुस गरेको युनिसेफले जनाएको छ ।

विश्वव्यापी रूपमा १० देखि १९ वर्ष उमेर समूहका ७ मध्ये १ किशोरकिशोरी मानसिक समस्याका साथमा बाँचिरहेका युनिसेफको अनुमान छ । प्रत्येक वर्ष करिब ४६ हजार किशोर किशोरीले आत्महत्या गर्ने तथ्यांक छ । नेपालमा पछिल्लो ५ वर्षमा देशभर दुई हजार ४३७ बालबालिकाले आत्महत्या गरेका छन् । यसमा बालक ९६५ र बालिका एक हजार ४७२ छन् । महामारीको अवधिभर गत एक वर्षमा ७६४ बालबालिकाले आत्महत्या गरेका छन् ।

युनिसेफका अनुसार अहिले बालबालिकामा ठूलो समस्याको सानो भागमात्रै देखिएको हो । कोभिड-१९ भन्दा पहिलेदेखि नै यो विषयमा कुनै महत्वपूर्ण लगानी र चासो नभएको हुनाले बालबालिका र युवाहरूले मानसिक स्वास्थ्य संकट भोग्नुपरेको प्रतिवेदनको निचोड छ । विश्वव्यापी रुपमै सरकारी स्वास्थ्य बजेटको लगभग २ प्रतिशत मात्रै मानसिक स्वास्थ्यको लागि विनियोजन गर्ने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web