जीपी कोइराला अस्पतालमा हर्नियाको शल्यक्रिया सफल

अशोज १५, २०७८ मा प्रकाशित | 456 views

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेकाे जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा हर्नियाको सफल शल्यक्रिया गरिएको छ । स्थानीय ७४ वर्षीय पुरुषको दायाँ साइडको हर्नियाको उपचार केन्द्रका चिकित्सकले सफल शल्यक्रिया गरेका हुन् ।

केन्द्रले पहिलो पटक हर्नियाको शल्यक्रिया गरेको सर्जन डा.परिवर्तन बरालले जानकारी दिनुभयो । डा. बराल र एनेस्थेसियोलोजिष्ट डा. रमेश घिमिरेले डेढ घण्टाको समयमा ती पुरुषको शल्यक्रिया गर्नुभएको हो । ढाडमा सुई लगाएर लठ्याएर शल्यक्रिया गरिएको छ ।

दायाँ साइडको हर्नियाका कारण ती पुरुषको अण्डकोष फुलिएको थियो । पोखरामा रहेकाे गण्डकी अस्पतालमा शल्यक्रियाका लागि कात्तिकमा समय लिएका उहाँले जीपीमा नै शल्यक्रिया गराउनुभएको हो । ‘हर्नियाको शल्यक्रियाका लागि पोखरा वा अन्यत्र जानुपर्थ्यो, अब सर्वसाधारणलाई सहज हुन्छ’, डा बरालले भन्नुभयो ।

यस अस्पतालले यसअघि भदौ पहिलो हप्ता मलद्वार फाटेका बिरामीको सफल शल्यक्रिया गरेको थियो । उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले हर्निया र मलद्वार फाटेको शल्यक्रियालाई निरन्तरता दिइने जानकारी दिनुभयो । उपचार केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा. विद्याभूषण ताम्राकारबाट हाडजोर्नीको शल्यक्रिया नियमितरूपमा भइरहेको जनाइएको छ ।

अस्पतालमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ ।

अस्पतालमा बिहान १० देखि दिउँसाे ४ बजेसम्म ओपीडी सेवा, चौबीसै घण्टा आकस्मिक सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर शल्यक्रियालगायत सेवा दिइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web