न्युनतम पारिश्रमिक १५ हजार पाउनुपर्ने माग गर्दै विदुरका मेयरलाई ज्ञापनपत्र

अशोज १३, २०७८ मा प्रकाशित | 281 views

न्युनतम पारिश्रमिक १५ हजार पाउनुपर्ने माग गर्दै विदुरका मेयरलाई ज्ञापनपत्र

त्रिशूली । लामो समयदेखि न्यून पारिश्रमिकमा कार्यरत रहेका विद्यालयका कर्मचारीले विदुर नगरपालिका समक्ष तलब बृद्धिको माग गर्दै मंगलबार ज्ञापन पत्र बुझाएका छन् ।
विदुर नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु अर्थात लेखापाल, बालविकास सहयोगी कार्यकर्ता र विद्यालय सहयोगीले न्युनतम पारिश्रमिक १५ हजार रुपैयाँ पाउनुपर्ने मागगर्दै नगरप्रमुख सञ्जु पण्डित समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल सरकारले तोकेको श्रमिकको मासिक न्युनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ भएपनि लेखापालले बढीमा ११ हजार ५०० र बालविकास सहयोगी कार्यकर्ताले ६ हजार रुपैयाँ मात्रै पाउदै आएकाले त्यसमा बढाएर कम्तिमा १५ हजार रुपैयाँ बनाइदिन नगरप्रमुख मार्फत नगर शिक्षा शाखाको ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाइएको हो ।
नेपाल सरकारले चालु आर्थिक वर्षको लागी ल्याएको बजेट अध्यादेशमा ‘सामुदायिक विद्यालयमा न्युन पारिश्रमिकमा कार्यरत कर्मचारीको लागी स्थानीयतह मार्फत कम्तिमा सात हजार रुपैयाँ बृद्धि गरिने’ भनेर आदेश भएको तथा २०७८ बैशाख २० जारी भएको नेपाल सरकारको राजपत्र भाग ५ मा ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय’को बुदाँ नं. २ र ३ मा न्युनतम पारिश्रमिक १५ हजार रुपैयाँ बनाउनुपर्ने कानून कार्यान्वयनमा ल्याइएको छ ।
सोही अनुसार विदुर नगरपालिका भित्र सामुदायिक विद्यायलमा कार्यरत कर्मचारीको पनि न्युनतम पारिश्रमिक चालु आर्थिक वर्षबाटै कम्तिमा १५ हजार बनाउन मागगर्दै ज्ञापन पत्र बुझाएको लेखापाल रामहरि सडौलाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web