कोरोना लागेको भन्दै पैसा लिएर नक्कली रिपोर्ट बनाउने माथी कारबाही

भदौ १०, २०७८ मा प्रकाशित | 400 views

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ ।

मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोद कुमार यादवमाथि कोभिड–१९ को नक्कली रिर्पोट बनाएको आरोपमा छानबिन सुरु गरेको हो । सर्वसाधारणले उजुरी दिएपछि मन्त्रालयले छानबिन प्रक्रिया थालेको हो ।

केन्द्रका सञ्चालक समिति सदस्य विजय राईको संयोजकत्वमा मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ डा. शंकर काफ्ले सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव बस्नेतले यादवले कोभिड–१९ को नक्कली रिर्पोट बनाई सर्वसाधारणसँग रकम असुल्ने गरेको बताए ।

यादवले नक्कली कागजात बनाउने, केन्द्रको लेटरप्याडको दुरुपयोग गर्ने, बिना परीक्षण रिर्पोट निकाल्ने गरेको पाइएको उनले जानकारी दिए । ‘केन्द्रको ल्याब कक्षमा बसेर नक्कली रिर्पोट बनाउनका लागि बार्गेनिङ गर्ने गरेको पनि पाइयो’, उनले भने, ‘स्वाबको परीक्षण नगरिकन यादवले रिर्पोट बनाउने गरेको देखियो ।’

उपसचिव बस्नेतका अनुसार विदेश जानेको सङ्क्रमण देखिए यादवले रकम लिएर रिर्पोटलाई नेगेटिभ पनि बनाउनेसमेत गरेको पाइएको छ । यादवलाई यसअघि पनि पटक–पटक स्पष्टीकरण सोधिएको उनले जानकारी दिए ।

यादवलाई सेवा सर्त नियमावली अनुसार भविष्यमा केन्द्रको सेवामा अयोग्य ठहर गर्दै बर्खास्त गर्ने गरी विभागीय सजाय गर्न सञ्चालक समितिलाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web