कोरोनाले बालबालिकाको खोप प्रभावित

भदौ १०, २०७८ मा प्रकाशित | 424 views

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण नेपालमा प्रवेश गरे पछि स्वास्थ्यको क्षेत्रमा धेरै ध्यान गयो । कोरोना संक्रमणबाट आफू कसरी बच्ने र घरका सदस्यलाई कसरी बचाउन सकिन्छ भन्नेतर्फ नै सबैको ध्यान गयो । तर बालबच्चाले लगाउनुपर्ने खोपको सन्दर्भमा न राज्यको ध्यान पुगेको देखियो न आफन्तको नै ।
कोरोना संक्रमण नेपालमा प्रवेश गरेसँगै बालबालिकालाई दिईने खोपको कभरेज दरमा कमी आएको देखिएको छ । सन् २०२० को तथ्यांकले जनाएअनुसार कतिपय बालबालिकाहरु नियमित खोपबाट बञ्चित भएको देखिएको छ । स्वास्थ्य विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोरोना संक्रमणका कारण लागु भएको निषेधाज्ञाका कारण मानिसहरु हिड्न नपाएको, यातायात सञ्चालन नभएका कारणले अभिभावकले बालबालिकालाई खोपकेन्द्रसम्म लैजान नसकेर केहि बालबालिकाहरु नियमित खोपबाट छुट्न पुगेका हुन् ।
पहिलो चरणको लकडाउनको समयमा केही खोपकेन्द्रहरु बन्द रहेका कारणले पनि बालबालिकाहरु नियमित खोप लगाउनबाट छुटेको उहाँको भनाई छ । गौतमले जनाएअनुसार नेपालमा वर्सेनि एक बर्षभन्दा मुनिका छ लाख २० हजार बालबालिकालाई १२ वटा रोगविरुद्धको नियमित खोप प्रदान गरीदै आईएको छ ।सन् २०१९ मा एक वर्ष मुनिका पाँच लाख ३७ हजार बालबालिकाले उक्त खोप लगाएको उहाँले बताउनुभयो । तर सन् २०२०मा त्यो संख्या घटेर चार लाख ८३ हजार बालबालिकाले मात्र उक्त खोप लगाएका छन् । यसरी कोरोना महामारीको समयमा खोपको कभरेज दरमा कमी देखिएको छ ।
सन् २०२१ को अहिलेसम्मको अवस्थामा भने बालबालिकाहरुको नियमित खोपको कभरेज दरमा केही सुधार भैरहेको उहाँ बताउनुहुन्छ ।
यस्तै स्वास्थ्य मन्त्रालयका खोप बिज्ञ डा. शान्तराज उप्रेतीले बालबालिकाहरु नियमित खोपबाट बञ्चित हुनु दुखद रहेको बताउनुभएको छ । बालबालिकाहरु नियमित खोपबाट बञ्चित हुँदा भविष्यमा शारीरिक अशक्षमता,मानसिक समस्या,अपांग,मानसीक रुपमा असक्षम,रोग प्रतिरोधात्मक क्षमताका कमी जस्ता गम्भिर समस्या आउन सक्ने उहाँले बताउनुभयो । नेपालमा निर्मुलीकरणमा रहेका केही रोगहरु र निर्मुलीकरणमा भैसकेका केही रोगहरु समेत फेरि फर्कन सक्ने जोखिम रहेको उहाँ बताउनुहुन्छ ।
यस्तै जनस्वास्थ्यविद् डा. सागरकुमार राजभण्डारीले बालबालिकाह नियमित खोपबाट छुट्दा फेरि नेपालबाट उन्मुलन भएका रोगहरु फर्कन सक्ने उहाँको भनाई छ । नेपालबाट उन्मुलन भैसकेका दादुरा,पोलियो,रुबेला जस्ता रोगहरु फेरि देखापर्नसक्ने उहाँले बताउनुभयो । बालबालिकाहलाई कोरोना महामारीको समयमा घुम्ति खोपकेन्द्र सञ्चालन गरेर भए पनि खोप सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । कतिपय क्षेत्रहरु भौगोलिक रुपमै विकट रहेकाले त्यस्ता क्षेत्रमा घुम्ति खोप सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता हुने उहाँको बताउनुभयो ।
यता बालबालिकाको हकहितमा सक्रिय रहदै आएको “बालबालिकाका लागि राष्ट्रिय अभियान”का अध्यक्ष प्रविन सिलवालले कोरोना संक्रमण सुरु भएपश्चात बालबालीका नियमित खोप प्राप्तिमा छुटेकोप्रति आफूहरुले सरकारलाई लिखित रुपमै ध्यानाआकर्षण गराएर खोपकेन्द्र सञ्चालन गर्न लगाएको बताउनुभयो । बालबालिकाले नियमित खोप नपाउँदा हुने दीर्घकालीन असरबाट बच्न र बालबालिकाको मौलिक हकको हनन हुन नदिन आफूहरुले सरकारलाई दवाव दिईरहे पनि कभरेज दरमा कमी आउनु दुखद भएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web