काठमाडौँ । पदीय मर्यादा विपरीत सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको आरोप लागेका नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिए । साउदले राजीनामा दिएको भोलिपल्टै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले समेत धितोपत्र बोर्डमा अर्कै प्रतिनिधि पठाउन अध्यक्ष शेखर गोल्छालाई आग्रह गरेका छन् ।
उता धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाकी छोरी रेविका ढुंगानाको नाममा पनि सर्वोत्तमको शेयर खरिद गरेको पाइएको छ । नेप्सेका सीईओले पदबाट राजीनामा दिएको र ढकालले पनि अर्को प्रतिनिधि पठाउन अध्यक्षलाई भनेपछि यसले बोर्ड अध्यक्ष ढुंगानालाई थप दबाब सिर्जना गरेको छ । धेरैले बोर्ड अध्यक्ष ढुंगानाले पनि अब पदबाट राजीनामा दिने आँकलन गरेका छन् ।
तर ढुंगानाले भने आफूले कुनै गलत कार्य नगरेको भन्दै राजीनामा नदिने बताएका छन् । साउदको श्रीमतीकै नाममा शेयर किनिएको भेटिएको तर आफ्नो विवाहित छोरीले शेयर किनेको भन्दै यी दुई घटनालाई जोडेर हेर्न नमिल्ने समेत उनको दाबी छ ।
चन्द्र ढकालको राजीनामाको विषयमा भने उनी निजी क्षेत्रको प्रतिनिधित्व गर्दैै आएकाले महासंघले फिर्ता बोलाउनु उनीहरुको आन्तरिक कुरा भएको उनले बताए ।
बजारमा आएका हल्लामा सत्यता नभएको दाबी गर्दै ढुंगानाले गल्ती नै नगरेको व्यक्तिलाई अनावश्यक विवादमा तान्न खोजिएको बताए । ‘बजारमा हल्ला आएको भरमा कसैले राजीनामा दिन्छ र ?’ ढुंगानाले भने, ‘मैले कुनै कानून विपरीत काम गरेको भए यो कानून विपरीत छ भन्न कसैले सक्छ र ? मैले केही गल्ती गरेको पनि छैन र राजीनामा दिँदा पनि दिन्नँ ।’
15.91¡ÆC