कुलमान विद्युतमा, हितेन्द्रदेव उर्जामा

साउन २७, २०७८ मा प्रकाशित | 464 views

काठमाडौ । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको र आज पदबहाली गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने र वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा लैजाने निर्णय गरेको हो । प्राधिकरण स्रोतका अनुसार शाक्यले हिजो प्राधिकरणमा पुगेर अनौपचारिक रुपमा विभागीय प्रमुखलगायतसँग भेटघाट गरी बिदा लिनु भएको छ ।

प्राधिकरणको नेतृत्वमा रहेका बेला लोडसेडिङ अन्त्यसँगै विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हात पारेपछि कुलमानको लोकप्रियता बढेको थियो । त्यस्तै, प्राधिकरणलाई सबैभन्दा बढी नाफा कमाउने संस्थानका रूपमा समेत उहाँले स्थापित गर्नु भएको थियो । २०७७ भदौमा चार वर्षे कार्यकाल सकेर कुलमान प्राधिकरणबाट बाहिरिनु भएको थियो । तर, अहिले चुहावट नियन्त्रण गर्न नसकेको, व्यवसायीसँग डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन नसकेको भन्दै प्रश्न उठेपछि उर्जामन्त्री पम्फा भुसालले कुलमानलाई नै कार्यकारी निर्देशक बनाउने तयारी गर्नु भएको थियो ।

केही दिनअघि प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यले सरकारले उचित ढंगले अर्को जिम्मेवारी दिए स्वीकार गर्ने बताउनु भएको थियो । यसअघिको केपी शर्मा ओलीकै सरकारमाथि कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा दोहाेर्‍याउनुपर्ने दबाब परे पनि उहाँलाई दोहाेर्‍याइएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web