झापामा निषेधाज्ञा सात दिन थप

साउन १७, २०७८ मा प्रकाशित | 433 views

झापा । कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुभएको छ ।

प्रदेश नं १ का १४ जिल्लामध्ये झापामा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेको जनाउँदै जिल्ला कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको निर्णयानुसार शनिवार राति १२ बजेदेखि साउन २३ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको आदेशमा उल्लेख छ । झापाका १५ पालिकामध्ये १० वटा पालिका यसअघि नै स्थानीयस्तरमा सिल गरिएका थिए ।

निषेधाज्ञाबमोजिम आजदेखि पूर्वी सीमानाका काँकडभिट्टाबाट विदेशी नागरिकको प्रवेशमा रोक लगाइएको छ । काँकडभिट्टाबाहेक अन्य नाका तथा गौँडाबाट सबैलाई प्रवेश निषेध गरिएको आदेशमा उल्लेख छ ।

काँकडभिट्टाबाट प्रवेश गर्ने नेपाली नागरिकको अभिलेख राखिने, नाकामै एन्टिजेन विधिबाट कोरोना परीक्षणको व्यवस्था मिलाउने, कोरोना पोजेटिभ देखिएमा नजिकको आइसोलेशन केन्द्र वा मेची अस्पतालमा लगेर उपचार गराउने, नेगेटिभ देखिएमा आवश्यक समन्वय गरी उनीहरुको गन्तव्यमा पठाउने व्यवस्था मिलाइने प्रजिअ तिम्सिनाले बताउनुभयो ।

निषेधाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमिनारजस्ता कार्यसञ्चालन गर्न नपाइने, जिल्ला बाहिर अनिवार्य जानैपर्ने भएमा गाडी पास लिनुपर्ने, उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सकेसम्म थोरै जनशक्ति प्रयोग गर्ने र त्यस्तो जनशक्तिलाई खान र बस्ने सुविधा उद्योग परिसरभित्रै मिलाउनुपर्ने निषेधाज्ञामा उल्लेख गरिएको छ ।

निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था न्यून कर्मचारीद्वारा हप्तामा तीन दिन मात्र सञ्चालन गर्न, हाटबजार, भेला, जात्रा, महोत्सव पार्टी, भोजलगायतका कार्य नगर्न आग्रह गरिएको छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यक वस्तुमा कृत्रिम अभाव गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गरेमा कानुनबमोजिम कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी तिम्सिनाले बताउनुभयो ।

छोटो दूरीका सबै प्रकारका सार्वजनिक तथा निजी गाडीको सञ्चालनमा रोक लगाइएको छ । यद्यपि पूर्वपश्चिम राजमार्गमा लामो तथा मध्यम दूरीका गाडी सञ्चालन गर्न पाइने उल्लेख छ । बजार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, पार्क, खेलकुद, जिमखाना, ब्युटीपार्लर, पुस्तकालय आदि बन्द गरिने निषेधाज्ञामा भनिएको छ ।

जिल्लामा कोडिभ–१९ को सङ्क्रमणबाट ४४५ जनाको ज्यान गइसकेको छ । अहिले आइसोलेशनमा दुई हजार ४१३ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा यसअघि गरिएको निषेधाज्ञा १५ दिनअघि मात्र खुकुलो पारिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web