काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा

साउन १५, २०७८ मा प्रकाशित
Published at साउन १५, २०७८

4374 views

काठमाडौँ । पुनर्निर्माणको अन्तिम चरणमा रहेको पुरातात्त्विक सम्पदा काष्ठमण्डपमा गजुर भित्र्याइएको छ । काष्ठमण्डपको धुरीमा राखिन उक्त गजुर धार्मिक विधिपूर्वक भित्र्याइएको हो ।

अब छाना छाउने कामसँगै पुनर्निर्माण सकिने काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।
सालको काठबाट बनेको गजुरका १३ चक्का छन् । यसलाई तामाको पाताले मोरेर धुरीमा स्थापना गरिनेछ । काष्ठमण्डपको मूल गजुर यही हो ।

समिति अध्यक्ष राजेश शाक्यले अबको दुई महिनामा सबै काम सक्ने लक्ष्य रहेको बताए । वाग्मती प्रदेशका सांसदसमेत रहेका शाक्यले भने, ‘अब चाँडै पुनर्निर्माण कार्य सकिनेछ ।’

काठमाडौं सहरको प्रतीक मानिने काष्ठमण्डपमा भित्र्याउनुअघि गजुरलाई नजिकैको सिंख्व: मू विहारमा तीन दिनसम्म तान्त्रिक विधिसहित पूजा गरिएको थियो ।

भित्र्याइएपछि पण्डित यज्ञमानपति वज्राचार्यको नेतृत्वमा रहेको समूहले वज्रयानी बौद्ध परम्पराअनुसार चर्या नृत्य गर्दै गजुर प्रतिस्थापनको पूजा गरेका थिए ।

सातौं शताब्दीमा निर्माण भएको मानिने काष्ठमण्डप ०७२ सालको भूकम्पमा पूरै भत्किएको थियो । पहिलेको संरचना पूरै एउटा रूखले बनेको मानिन्छ ।

काठमाडौं महानगरपालिकाको आर्थिक लगानीमा यसको पुनर्निर्माण ०७५ बाट सुरु भएको थियो । शाक्यका अनुसार अहिलेसम्म महानगरले ११ करोड ५० लाख रुपैयाँ प्रदान गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.