
त्रिशूली । विनासकारी भूकम्पले क्षति पुगेको नुवाकोटका अधिकांश विद्यालयको पुर्ननिर्माण सम्पन्न भएको छ । भूकम्पले क्षति पुगेका विद्यालयको पुर्ननिर्माण सहित अनुगमन, सुपरीवेक्षण र नियमनको जिम्मेवारी पाएको जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) मार्फत नुवाकोटमा अधिकांश विद्यालयमा सुविधासम्पन्न नयाँ भवनको निर्माण गरिएको हो ।
विसं. २०७२ बैशाख १२ मा गएको भूकम्पले क्षति पुराएपछि अस्थायी तथा जोखिम भवनमा कक्षा सञ्चालन हुदै आएकोमा जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) मार्फत भूकम्प सहित बहुविपत प्रतिरोधात्मक भवन सहित खानेपानी र शौचालयको समेत सुविधा उपलब्ध गराइएको एकाई प्रमुख दिनानाथ गौतमले जानकारी दिनुभयो ।
उहाँको अनुसार भूकम्पले क्षति पुगेका विद्यालयको पुर्ननिर्माण सहित संघसँस्था र दातृ निकायसंगको समन्वयमा क्षतिग्रस्त भएका २८४ विद्यालयको एक हजार ५१ कक्षाकोठाको पुर्ननिर्माण गर्नुपर्ने दायित्वमा अहिलेसम्म २४२ वटा विद्यायलको नयाँ भवन निर्माण सम्पन्न गरिएको छ । “पुर्ननिर्माण गर्न बाँकी केही विद्यालयमा निर्माणको काम जारी रहेको छ । एकाई प्रमुख गौतमले भन्नुभयो “विभिन्न समस्याको कारण केही ढिलो भएको संरचना अबको केही सातादेखि महिना दिनभित्रै सम्पन्नको नजिक पुराइएको छ ।”
क्षतिग्रस्त विद्यालयको पुर्ननिर्माणको क्रममा नुवाकोटमा जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) मार्फत विद्यालय व्यवस्थापन समितिले ८९१ वटा कक्षाकोठाको निर्माण गरेका छन् भने अझै केही विद्यालयमा कक्षाकोठा निर्माण भइरहेको छ । एकाईको कार्यालय मार्फत अनुगमन, सुपरीवेक्षण र नियमनमा जापानी सहयोग नियोग (जाइका)को ऋण सहयोगमा ७० वटा विद्यालय, भारतीय सरकारको अनुदान सहयोगमा नौ वटा र एशियाली विकास बैंक (एडिबी) मार्फत छ वटा विद्यालयको पुर्ननिर्माण र भूकम्पले आशिंक क्षति पुराएका विभिन्न सातवटा विद्यालयको भवन प्रबलीकरणको काम भइरहेको एकाई इञ्जिनियर राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको अनुसार विद्यालयको भवन निर्माणको लागी अत्यावश्यक रहेको प्राविधिक जनशक्ति र कामदारको अभाव, सरोकारवाला पक्षहरुबीच समन्वयको कमी, निर्माण प्रक्रिया, निर्माण सामाग्रि र विद्यालयसम्म पुग्ने पहुचमार्ग (सडक)को कमी लगायतका कारण देखिएका समस्याहरु हाल समाधान उन्मुख हुदै पुर्ननिर्माण सम्पन्नको नजिक पुगेको हो ।
“भूकम्पले क्षति पुगेका विद्यालयको पुर्ननिर्माणको लागी केन्द्रमा जिल्ला आयोजना कार्यान्वयन एकाईको स्थापना भएसगैँ नुवाकोटमा जिल्ला स्थित कार्यालय स्थापना गरेर आर्थिक वर्ष २०७३÷०७४ देखि पुर्ननिर्माण सुरु गरिएको थियो ।” एकाईका इञ्जिनियर श्रेष्ठले भन्नुभयो “पछिल्लो दुई वर्षको अवधिमा कोरोनाले पुराएको प्रभावको कारण निर्माण सम्पन्न हुन बाँकी रहेका भवनको काम अबको चार महिना भित्रै पूरागर्ने नयाँ लक्ष्य राखिएको छ ।”
कोरोनाको कारण पछिल्लो दुई वर्षदेखि पुर्ननिर्माणमा पुगेको असर नेपाल सरकारले थप गरेको कार्तिक मसान्तसम्मको अवधिमा विद्यालयको पुर्ननिर्माण सम्पन्न गर्न सकिने नयाँ लक्ष्य लिइएको छ ।
भूकम्पले क्षति पुराएका विद्यालय मध्ये विद्यार्थी सङ्ख्या न्युन भएका विद्यालयहरु नजिकै रहेका अर्को विद्यालयसंग गाभ्ने (मर्ज) सरकारी नीतिको कारण एकाध विद्यालय बाहेक अधिकांश विद्यालयमा अहिले सुविधासम्पन्न नयाँ भवन सहित खानेपानी सुविधा र शौचालयको व्याबस्था जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) मार्फत गरिएको छ ।
“विद्यार्थी सङ्ख्या अत्यन्त कम भएको र साथमा जग्गा समेत कम भएका कारण ३–४ विद्यालयमा नयाँ भवनको निर्माणको औचित्व र त्यसको ब्यवस्थापन स्थानीय सरकार मार्फत सम्बोधन हुने गरेर समन्वय गरिएको छ ।” एकाई प्रमुख गौतमले जानकारी दिनुभयो ।
मर्मतसम्भार कोषको आवश्यकता :
भूकम्पले क्षति पुगेका विद्याललयको पुर्ननिर्माणसगै दिगोपन र टिकाउको लागी सरोकारवाला पक्षबाट चासो दिनुपर्ने देखिएको छ । पुर्ननिर्माण गरिएका सुविधासम्पन्न भवनलाई अहिलेकै स्वरुपमा टिकाउन मर्मतसम्भार कोषको स्थापना गरेर सम्बन्धित विद्यालय तथा स्थानीय सरकारले यसमा जिम्मेवारी बहन गर्नुपर्ने जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) नुवाकोटका इञ्जिनियर राजेन्द्र श्रेष्ठको सुझाब छ ।
पुर्ननिर्माणमा रु पाच अर्ब ३० करोड लगानी :
भूकम्पले क्षति पुगेका विद्यालयको लागी शिक्षाको एकाई कार्यालय मार्फत रु.एक अर्ब ७० करोड लगानी भइसकेको छ । यो सगैँ मुख्य तीनवटा दातृ निकाय जाइका, एडिबी र भारतीय सरकारको रु. तीन अर्ब ६० करोड सहित कुल रु. पाच अर्ब ३० करोड लगानी भएको एकाई प्रमुख दिनानाथ गौतमले जानकारी दिनुभयो ।
“भूकम्प जानु भन्दाअघि ढुङ्गामाटोले बनेका साँघुरा कोठा सहितको एकतले भवन रहेको विद्यालयमा पुर्ननिर्माण पछि सुविधासम्पन्न फराकिलो कोठा तथा तीन तलेसम्मका नयाँ भवन बनेको छ ।” उहाँले भन्नुभयो “भूकम्पले पुगेको विनासपछिको पुर्ननिर्माणले विद्यार्थीको शिक्षण सिकाईस्तर र क्षमतावान जनशक्ति उत्पादनको लागी महत्वपूर्ण अवसर समेत सिर्जना गरेको छ ।
जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) नुवाकोटका इञ्जिनियर राजेन्द्र श्रेष्ठ मार्फत प्राप्त पुर्ननिर्माण सम्बन्धि तस्वीरहरु :





















26.09¡ÆC