कर्णाली राजमार्गमा १२ वटा पक्की पुल निर्माण

साउन ६, २०७८ मा प्रकाशित | 418 views

सुर्खेत । गएकाे आर्थिक वर्षमा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ ।

सडक डिभिजन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७३/०७४ देखि निर्माण थालिएका ती पुल गएकाे वर्ष सम्पन्न भएको जनाएको छ । कर्णाली राजमार्गका धेरैजसाे ठाउँमा पक्की पुल नहुँदा यात्रुले लामो समयदेखि सास्ती भोग्नुपरेको थियो । पुल नहुँदा वर्षाका बेला यात्रुलाई जोखिम बढेको थियो ।

सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गतको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माले २०७४ साल जेठदेखि निर्माण थालिएका ती पुलमध्ये तिला खोलाबाहेक सबै पुल २०७७ साल पुस मसान्तमै सम्पन्न भएको जानकारी दिनुभयो । तिला खोला पुल २०७५ असारमा सम्झौता भइ २०७८ जेठमा सम्पन्न भएको हो ।

सडक डिभिजन कार्यालयका अनुसार कर्णाली राजमार्गमा कुवा खोला, काले खोला, पाल्तडा, कानेगाड, गुहेगाड, दही खोला, तिला खोला, छिडेना खोला, सिञ्जा, पातले खोला, लुम्चडी र माटे खोलामा पुल निर्माण पूरा भएका हुन् ।

४२ करोड ४५ लाख ४९ हजार चार सय ४४ रुपैयाँकाे लागतमा ती पुल निर्माण भएको कार्यालयले जनाएको छ । इन्जिनियर शर्माले पुल निर्माणका साथै धेरैजसाे ठाउँमा राजमार्ग मर्मत सुधार गर्ने कार्य सम्पन्न भएको बताउनुभयो । नाली खोल्नाका साथै भत्केको पर्खाल लगाउने, पहिरो पन्छाउनेजस्ता कार्य समयमै भएकाले यस पटकको वर्षामा राजमार्ग बन्द नभएको उहाँको भनाइ छ ।

यसैबीच यातायात व्यवस्था विभागले मध्यपहाडी लोकमार्ग अन्तर्गत दैलेखको साइँ गाउँमा सुविधा सम्पन्न ‘रिफ्रेस सेन्टर’ निर्माण गरेको छ । रिफ्रेस सेन्टरमा महिला–पुरुष र अपाङ्गतामैत्री शौचालय, खानेपानी, खाजा घर, यात्रु प्रतीक्षालय, गार्ड रुम, बाथरुम लगायतका संरचना निर्माण गरिएको छ ।

यातायात व्यवस्था विभागको तीन करोड ३५ लाख रुपैयाँ लागतमा मजदुर कन्स्ट्रक्शनले निर्माण जिम्मेवारी पाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web