२८ जेठ, काठमाडौं ।
संसदमा प्रतिपक्षि दल बनेको नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार संविधान कार्यान्वयनप्रति गम्भीर नभएको आरोप लगाएका छन् ।

नेपाल नागरिक समाजको तेस्रो राष्ट्रिय महाधिवेशनको काठमांडौमा उद्घाटन गर्दै देउवाले संविधान कार्यान्वयन नहोस भनेर मुलुकमा ठुलो षड्यन्त्र हुने खतरा बढेको बिचार राखे ।

संविधान कार्यान्वयनका लागि सरकारमा सहभागि हुनुपर्छ भन्ने मान्यता कांग्रेसको नरहेको र सरकार बाहिर बसेर पनि सहमतिको वातावरण बनाउन आफुहरु सकारात्मक रहेको देउवाको भनाई थियो ।

सभापति देउवाले आफू सहमतिको सरकारका पक्षमा रहे पनि सबैले मिलेर बाँडीचुडी खानलाई भने सहमतिको सरकार गठन हुन नहुने धारणा राखे ।

कार्यक्रममा नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधानको कार्यान्वयनका लागि ठूला राजनीतिक शक्तिबीच सहमति आवश्यक रहेको बताए ।

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले संविधान कार्यान्वयनले मात्र मुलुकको राजनीतिक सङ्क्रमणकालको अन्त्य हुने भएकाले यसमा नागरिक समाजको भूमिका पनि महत्वपूर्ण हुने बताए ।

काँग्रेसका नेता विमलेन्द्र निधिले नेपाली जनता रैतिबाट जनता बनेको र जनताबाट नागरिक बन्ने क्रममा रहेको बताउँदै संविधान कार्यान्वयन सर्वोपरि महत्वको विषय भएको बिचार राखे ।

कार्यक्रममा काननुविद् निलाम्बर आचार्य, समाजका अध्यक्ष खेमराज रेग्मी, विकृतिका विरुद्ध नागरिक समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

25.12¡ÆC