नुवाकोट । तरकारी एवं फलफूल खेतीको सम्भाव्यता अध्ययनका लागि चिनियाँ सरकारी टोली नुवाकोट आएको छ । नेपाल सरकार र चीन सरकारबीच ‘कृषिमा सहकार्य’ गर्न भएको समझदारीअनुसार कृषि क्षेत्रको विज्ञ सम्मिलित पाँच जनाको टोली नुवाकोट आएको हो ।

टोलीमा कृषि प्रविधि सहयोग परियोजना, नेपाल उत्तरी हिमाली क्षेत्र तिब्बत कृषि योजना प्रतिष्ठानका प्राध्यापक गेसाङ डुञ्चुसहित तरकारी, बाख्रा, ट्राउट माछा र घाँसका विज्ञ सम्मिलित छन् ।

टोलीले यहाँको कृषि ज्ञान केन्द्र, पशु सेवा केन्द्र, उपोष्ण प्रदेशीय बागवानी फार्म, भेडा अनुवांशिक श्रोतकेन्द्र, मस्य अनुसन्धान केन्द्र लगायतबाट प्रवाह हुँदै आएको सेवा र जिल्लामा सञ्चालनमा रहेका कृषि र कृषि सहायतासम्बन्धी कार्यक्रमको बारेमा चासो लिएका छन् ।

टोलीले नेपाल सरकारसँग भएको समझदारी एवं सम्झौताअनुसार यहाँको कृषि क्षेत्रको अध्ययन र अनुसन्धान गरी तरकारी, फलफूल, ट्राउट माछा, बाख्रा, कुखुरालगायतको प्रवद्र्धनमा जोड दिन चासो देखाएको कृषि ज्ञान केन्द्रका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो ।

उहाँको अनुसार टोलीले सञ्चालन गर्न लागेको कार्यक्रमका लागि अध्ययनपश्चात बजेट र सञ्चालित योजनालाई अन्तिमरुप दिने जानकारी गराएका छन् । “सन् २०१९ जनावरीदेखि सञ्चालन गर्न लागेको कार्यक्रम नेपाल सरकारसँग साझेदारी गरी यहाँको हावापानीअनुसार चीनमा उत्पादन हुँदै आएको कृषि, पक्षी र माछा खेतीमा लगानी गर्न चासो देखाएका छन्”–उहाँले भन्नुभयो, “उन्नत जातको बीउ, व्यावसायिक किसानलाई तालीम, प्रविधि प्रदानलगायतमा सहयोग गर्ने स्वरुपका कार्यक्रम सञ्चालन हुने चिनियाँ टोलीले बताएका छन् ।”

यहाँ उत्पादन हुने कृषि उब्जनी चीनमा निर्यात गर्न चाहेकाले उत्पादनको दर र गुणस्तर वृद्धि गराउन किसानलाई प्राविधिक सहयोग कार्यक्रमलाई उनीहरुले प्रथामिकता दिने अध्ययनको क्रममा बताएका छन् ।

चीनसँग सञ्चालनमा रहेको एकमात्र व्यापारिक नाका रसुवागढीसँग जोडिएको रसुवा जिल्ला र यसको आसपासमा पर्ने नुवाकोट र सिन्धुपाल्चोकमा एकैसाथ सञ्चालन गर्न लागिएको कार्यक्रम किसानको मागअनुसार अघि बढाउने र त्यो पहिलो चरणमा तीन वर्षसम्मको लागी तय गरिएको चिनियाँ प्रतिनिधि मण्डलको टोली संयोजक एवं कृषि प्रविधि सहयोग परियोजनाका प्रतिनिधि प्रा गेसाङले बताउनुभयो । टोलीले नुवाकोटपछि रसुवा र सिन्धुपाल्चोकमा अध्ययन गर्ने जनाएको छ ।

18.12¡ÆC