काठमाडौं,बैशाख १३ । काठमाडौं : नेपाल आयल निगमले पेट्रोल पम्पलाई तोकिएको परिमाणभन्दा कम तेल (डिजेल, पेट्रोल) दिएको भेटिएको छ। नेपाल गुणस्तर तथा नापतौल कार्यालयले गरेको छड्के अनुगमनमा चार हजार लिटरमा ९९ लिटर कम पेट्रोल दिएको तथ्य फेला परेको हो। गुणस्तर, निगम, आपूर्ति विभाग र पेट्रोल व्यवसायीको संयुक्त टोलीले काठमाडौंको कालीमाटीस्थित माली पेट्रोल पम्पमा पेट्रोल नाप्दा परिमाण कम भेटिएको हो। चार हजार लिटर पेट्रोल हुनुपर्नेमा ९९ सय लिटर नपुगेको नेपाल गुणस्तर तथा नापतौल वाग्मती अञ्चल कार्यालयकी शाखा अधिकृत ममता मानन्धरले बताइन्।

'क्यालिब्रेसन चार्टअनुसार तेल आएको छ कि छैन भनेर मापन गरेका हौँ,' मानन्धरले भनिन्, 'नमुनाको रुपमा नाप गर्दा कम तेल देखियो।' मापदण्डअनुसार नभएपछि अनुगमन सुरु गरेको उनले बताइन्। त्यसमा वर्किङ लस, सिंक्रेज समावेश गरिएको छैन। निगमले ०.५५ प्रतिशत सिंक्रेज, ०.२६ प्रतिशत वर्किङ लस दिन्छ। पेट्रोलियम पदार्थ आयात गर्दा तापक्रमको अन्तरका कारण चार हजार लिटरमा २८ लिटरसम्म वर्किङ लस र सिंक्रेजबापत घटाउन सकिन्छ। तर, काठमाडौं उपत्यकाभित्र उस्तै तापक्रम भएकाले यहाँको सन्दर्भमा यो नियम मेल खाँदैन। २८ लिटरको यो परिमाण घटाउँदा एक पनि चेम्बर पेट्रोलमा ७१ लिटर कम हुन गएको देखिन्छ। जुन सात हजार दुई सय छ रुपैयाँ बराबर हो।

आजको नागरिक दैनिकमा समाचार छ ।

19.29¡ÆC