धनगढी ।
कैलालीको धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट हराएको भनिएको २२ लाख ७० हजार रुपैयाँ बैंककै कर्मचारीले चोरेको पत्ता लगोको छ ।

प्रहरीका अनुसार बैंकमा कामगर्ने एक कर्मचारीले आफ्नै भाउजुको कोठामा लगेर रकम लुकाएको पाइएको हो ।

रकम चोरीमा संलग्न बैंकका कर्मचारी गोविन्द उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकको एटिएममा राख्नका लागि तयार पारिएको रकम शुक्रबार बैंक भित्रबाटै हराएको बताइएको थियो ।

पैसा हराएदेखि नै शंकाको घेरामा रहेका कर्मचारी उपाध्यायसहित बैंकका सुरक्षा गार्डलाई प्रहरीले आइतबार पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा बैंकका कर्मचारी उपाध्यायले रकम चोरी गरेको स्वीकार गरेपछि रकबारे खुलासा भएको हो ।

उनले चोरी गरेको रकम अत्तरिया नगरपालिका वडा नम्बर १० स्थित लीला जोशीलाई राख्न दिएका थिए । भाउजु नाता पर्ने जोशीको घरबाट प्रहरीले रकम बरामद गरेको एसपी अर्जुन चन्दले जानकारी दिए ।

बाँकी रकमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पैसा हराएको जानकारी पाएपछि इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे हेलिकप्टर चार्टर गरी शनिबार धनगढी पुगेका थिए ।

15.65¡ÆC