हत्याका फरार अभियुक्त ४४ बर्ष पछि पक्राउ

२४ जेठ, जाजरकोट ।
जाजरकोटमा एक अभियुक्त ४४ बर्ष पछि पक्राउ परेका छन् ।

जिल्लाको भेरीमालिका नगरपालिका २, डिङ्गाका ८० बर्षीय टेकबहादुर थापा ४३ बर्ष पछि पक्राउ परेका छन् ।

जिल्ला अदालत जाजरकोटले ज्यान मार्ने उद्योग मुद्धाका फरार अभियुक्त थापालाई कारागार पठाएको छ ।

थापाले २०२९ सालमा पूर्व जिल्ला पञ्चायत सभापति तप्तबहादुर कार्कीलाई गोली हानेर घाईते बनाएका थिए ।

कार्कीको ज्यान मार्ने उद्योग मुद्धा सम्बन्धि जाहेरीले प्रतिबादी बनेका थापाले जिल्ला अदालतबाट सफाई पाएपनि पुनरावेदन अदालतले भने कसुर ठहर गर्दै १० बर्ष कैद सजायको फैसला गरेको थियो ।

थापा भने पुनारवेदन अदालतको फैसला विरुद्ध सार्वोच्चमा जाने मौका नपाएरै फरार अभियुक्त बनेका थिए ।

पुनरावेदनको फैसला तथा अपील गर्ने म्याद थाह नपाएर सर्वोच्चमा जान नसकेको उनले बताए ।

मध्यमोदी जलविद्युत आयोजनाको काम तीबै गतिमा

२४ जेठ, पर्वत ।
पर्वतस्थित मोदीखोलामा निर्माणाधीन १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी खोला जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अघि बढेको छ ।

भारतले गरेको अघोषित नाकाबन्दीका कारण निर्माण सामग्री ढुवानी अभावमा केही समय प्रभावित बनेको आयोजनाको काम पछिल्लो समयमा धमाधम भइरहेको छ । विसं २०७१ फागुनबाट काम सुरु गरेको आयोजनाले अहिले स्थानीयवासीसमक्ष जग्गा खरिद गर्ने काम सँगसँगै टनेल निर्माण कार्यलाई समेत अघि बढाएको छ ।

पर्वतको भुकताङ्ले–१ सेराबेसीमा ड्याम रहने गरी काम सुरु गरेको आयोजनाले दुई हजार आठ सय मिटर टनेल निर्माणमध्ये झन्डै चार सय मिटर सम्पन्न गरिसकेको छ । ड्याम साइड निर्माणतर्फको क्षेत्रलाई पहिलो फेज मानेर सुरुङ निर्माण गरेको आयोजनाले पावर हाउस रहने देउपुरतर्फबाट पनि टनेल निर्माणकार्य अघि बढाउने भएको छ ।

हिमाल हाइड्रो मुख्य निर्माण कम्पनी रहेको उक्त आयोजनामा अहिले ड्याम रहने क्षेत्र र पावर हाउसतर्फको क्षेत्रमा काम भइरहेको आयोजना प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो ।

पर्वतको भुकताङ्ले, देउपुर र तिलाहारसँगै कास्कीको दाङ्सिङ, सल्यान र लुम्ले गाविसलाई मुख्य प्रभावित गाविसका रुपमा सूचीमा राखेर निर्माण भइरहेको आयोजनाले स्थानीयवासीको सहयोगमा निर्माणकार्यलाई तीव्रता दिएको देवकोटाले जानकारी दिनुभयो ।

कुल दुई अर्ब ८० करोड रुपैयाँको लगानी रहेको उक्त आयोजनामा उद्योगपति विनोद चौथरीको मुख्य लगानी रहेको छ भने आयोजना निर्माणका लागि प्राइम बैंकको नेतृत्वमा अन्य वित्तीय संस्थाले समेत लगानी गरेका छन् ।

दाङबाट रोल्पा जाँदै गरेको जिप दुर्घटना, दुईको मृत्यु

२४ जेठ, सल्यान ।
दाङको तुलसीपुरबाट रोल्पातर्फ जाँदै गरेको ग१ज ५५६० नम्बरको जिप आइतबार बेलुका सल्यानको रिम गाविस–८ को खालीमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये दुई जनाको मुत्यु भएको छ ।

राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा सल्यान–७ गर्पाकी ९ महिनाकी बालिका सफता बूढा र सोही ठाउँकै ७१ वर्षीया मैती घर्तीको गएराती नै मृत्यु भएको अस्पतालले जानकारी दिएको छ  । क्षमताभन्दा बढी लोड र तीव्र गतिका कारण दुर्घटना भएकोे प्रहरीको अनुमान छ ।

इलाका प्रहरी कार्यालय कपुरकोटका अनुसार सो दुर्घटनामा परी १९ जना घाइते भएका छन् । घाइते हुनेमा जिपका मालिक सल्यान गर्पाका ३३ वर्षीय भीम राना, रोल्पा झेनामका–९ की ३५ वर्षीया मनकली घर्ती, सोही स्थानका ४८ वर्षीया विरमती घर्ती, २८ वर्षीया सीता बगरी, २ वर्षीया जमनी घर्ती, ६ वर्षीया जमनी बगरी र रोल्पा झेनाम–३ का १८ वर्षीय भीम घर्ती रहेका छन् ।

त्यसैगरी रोल्पा झेनाम–९ की ६० वर्षीया जुनी परियार, नुवागाउँ–२ का ५० वर्षीय हरिप्रसाद थापा र रोल्पा–८ बुढागाउँकी २३ वर्षीय सुकबहादुर कामी रहेका छन् । यस्तै बाँके कुसुमका १५ वर्षीय मानवहादुर पुन, सोही स्थानका ५२ वर्षीया मुगी बुढाथोकी, २४ वर्षीया वसन्ती बराल, सल्यान गर्पा–७ का ७२ वर्षीय नोवबहादुर घर्ती, सल्यान धनवाङ–७ की २८ वर्षीया दीपेन्द्र बूढा, पुष्पा रोका सोही ठाउँका ११ वर्षीय सन्तोष रोका र रिमा थापा रहेका छन् ।

घाइते सबैलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि गएराति नै शिक्षण अस्पताल कोहलपुरमा पठाइएको प्रहरीले जनाएको छ । घटनालगत्तै फरार रहेका जिप चालकलाई प्रहरीले राति  नियन्त्रणमा लिइसकेको छ ।

लोडसेडिङ घट्यो,अब हप्तामा ९ घण्टा मात्र (नयाँ तालिकासहित)

काठमाडौं,जेठ २४ ।  नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय घटाएको छ । नदीहरुमा पानीको जलस्तर बढ्ने क्रम रहेको भन्दै मंगलबारदेखि  लागू हुनेगरि लोडसेडिङ घटाएको हो ।  नयाँ तालिका अनुसार अब हप्तामा ६३ घण्टा लोडसेडिङ हुनेछ । यसरी दैनिक ९ घण्टासम्म विद्युतभार कटौती हुने प्राधिकरणले जनाएकोछ ।

अम्बर गुरुङप्रद्धि श्रद्धाञ्जली होइन स्वास्थ्यलाभको कामना गरौं, उहाँको मृत्यु भएको छैन

२४ जेठ, काठमाडौं ।
बरिष्ठ संगीतकार अम्बर गुरुङको मृत्यु भएको भन्दै केही अनलाईन र सामाजिक सञ्जालभर समाचार फैलिएपनि अस्पतालले उहाँको अवस्था गम्भिर रहेपनि कुनैदुखद खवर नआइसकेको बताएको छ ।

गुरुङका परिवारजनले समेत मृत्युको खवर आउनु दुखद भएको भन्दै स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको छ ।

अम्बर गुरुङका छोरा राजुले जिउँदै रहेको मानिसलाई मृत्यु भइसकेको भन्दै खवर आउँदा आफु दुखी र हैरानीमा परेको बताउनुभयो ।

अस्पताल प्रशासनले पनि गुरुङको अवस्था स्थिर रहेको भन्दै मृत्युको हल्ला झुटो भएको प्रतिक्रिया दिएको छ ।

यसअघि टपनेपालन्युजडटकमले समेत ईकान्तिपुरमा प्रकाशित समाचारलाई आधार बनाएर श्रोत उदृत गर्दै प्रकाशित गरेको अम्बर गुरुङ बारेको समाचारमा क्षमा माग्दछौं ।

अम्बर गुरुङको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक

काठमाडौं,जेठ २४ । बरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था जटिल बनेको छ ।  गुरूङलार्इ ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखिएको छ। अस्पतालमा रहेका अमरका जेठा छोरा किशोर गुरूङ्का अनुसार अमर गुरूङ्को अवस्था अत्यन्त चिन्ताजनक रहेको जानकारी दिएका छन्।  महीनादिन अघिमात्र भारतमा उपचारपछि फर्कनुभएका गुरुङ रोगले च्यापेपछि हप्तादिन अघि अस्पताल भर्ना हुनुभएको हो  । अन्ननलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ राष्ट्रिय गानका सङ्गीतकार समेत हुनुहुन्छ ।

नम्वर नभएको हजार रुपैयाँको नोट भेटियो

२४ जेठ, काठमाडौं ।
पछिल्लो समय नेपाली रुपैयाँको समेत नक्कली कारोबार भएको आशंका बढिरहेका बेला नम्वर बिनाको नोट फेला परेको छ ।

नम्बर नभएको एक हजारको नोट पत्रकार दिपक धितालले सामाजिक सञ्जाल फेसबुकमा राखेर सार्वजनिक गर्नुभएको छ ।

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार धितालका अनुसार नोटमा गर्भनरको हस्ताक्षर समेत बुझिने गरी छैन ।

हेर्दा चल्तीमा रहेको जस्तो देखिने पुरानो भैसकेको नोटको दायाँ र बाँयाँपट्टी हुने दुबै नम्बर छैन ।

बजारमा भारतीय नक्कली नोटको बिगबिगी बढेको समाचार आइरहेका बेला नेपाली नोटमा समेत गम्भिर त्रुटी देखिदा नेपाली नोटको नक्कली कारोबार समेत मौलाएको होकी भन्ने आशंका पैदा भएको छ ।

कमिसनको खेल खेल्दै दोधारा चाँदनीको कृषी बिकास बैंक

पप्पु गुरुङ्, २४ जेठ / दोधारा चाँदनी, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका स्थित रहेको कृषी बिकास बैंक शाखा कार्यालयले ऋण दिदा कमिसनको चलखेल गर्दै आएको स्थानियहरुले आरोप लगाएका छन् । सरकारी मातहतमा रहेको दोधारा चाँदनीमा रहेको एक मात्र बैंक कृषी बिकास बैंक शाखा कार्यालयले गरिब किसानहरुको जिवन स्तर उकास्न तथा कृषीमा उनिहरुको बैज्ञानिककरण गर्ने लगाएतका उद्धेश्यले स्थापित  भएको भएपनि कर्मचारीहरुको कमिसन खेलले कृषी बिकास बैंक लि.ं दोधारा चाँदनी बेलाबखत चर्चामा आउदै गरेको छ् । ऋण लिदा कमिसनको खेल हुने हुदा स्थानियहरुमा बैंक प्रति नकारात्मक सोच बन्दै आएका बताईन्छ् । कमिसन नदिनेहरुको महिनौ बित्दा समेत ऋण स्विकृत नगरिदिने गरेको स्थानियहरुको आरोप रहेको छ् । कमिसन दिनेहरुले एकै दिनमा लाखौ रुपिया ऋण पाउने गरेको दोधारा चाँदनीबासीहरुको भनाई रहेको छ् । जग्गाधनी प्रमाण पुर्जालाई कृषी बिकास बैंकमा ऋण लिएर बैदेशिक रोजगारको लागी ऋण काढ्ने र उक्त कार्यमा बैंकको कर्मचारीबाट एक लाख ऋण काढ्दा रु. ५ हजार कमिसको खेल हुने गरेको समाचार श्रोतको दाबी रहेको छ् । बैदेशिक रोजगारको निम्ती रकमको लागी प्राय: युवाहरु कृषी बिकास बैंक धाउने गरेको छन् । उक्त ऋण लिदा कमिसनको चलखेल हुने गरेको बताईन्छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडुवाल टोलका महाबिर क्षेत्रीले ८ महिना बित्दा समेत रु. २ लाख रुपिया ऋण नपाएको दुखेशो गरेका छन् । “मेरो भन्दा पछि माँग फारम भरेका ऋणीहरुले ऋण पाए, मैले पाएन्” क्षेत्रीले दुखेशो पोखे । उनि २ महिना सम्म कृषी बिकास बैंकको कार्यालयका कर्मचारीहरु संग बिन्ती गर्दा समेत ऋण नपाएको उनले बताएका छन् । तर कार्यालयले भने बैंकमा रकम नभएको कारण ऋण दिन नसकेको बताउदै आएका छन् । कृषी बिकास बैंकको कमिसनको खेलको कारण दोधारा चाँदनीका गरिब कृषकहरु मर्कामा पर्दै आएको एक थरीको भनाई रहेको छ् । दोधारा चाँदनी स्थित रहेको कृषी बिकास बैंक कार्यालयले गरेको कमिशनको खेल तत्कालै बन्द गरेर गरिब किसानलाई सहुलित ढङ्गबाट ऋण प्रवाह गर्नु पर्ने अन्यथा कृषी बिकास बैंक दोधारा चाँदनीमा रहेको अर्थ नभएको स्थानिय राजनितीक दलका प्रतिनिधी पर्शुराम सुनारले बताउनुभएको छ् । “कसैलाई लाखौ रुपिया एकै दिनमा ऋण दिने, कसैलाई महिनौ बित्दा समेत माँग फारम स्बिकृत नगर्ने गरेको मैले सुनेको छु” सुनारले बताउनुभयो । कृषी बिकास बैंक लिं. शाखा कार्यालय दोधारा चाँदनीको श्रmणमा कमिसनको चलखेलले दोधारा चाँदनीमा रहेका शहकारी संस्थाहरुमा आकर्षित हुदै आएको गुनासो बन्दै आएको छ् । दोधारा चाँदनीमा बिभिन्न समयमा हुने सभा समाहरोहमा समेत कृषी बिकास बैंकले गरेको कमिसनको खेल र त्यसबाट परेको असरको बारे कुरा आउदै गर्दा पनि कृषी बिकास बैंक नसच्चीएको एक थरीको भनाई रहेको छ् । जस्ले गर्दा बैंकको छबी प्रति नकारात्मक बन्दै आएको जानकारहरु बताउदै आएका छन् । कृषी बिकास बैंक लिं.शाखा कार्यालय दोधारा चाँदनीका प्रमुख गणेश चन्द अनुसार ऋण नपाएकाहरुले उक्त आरोप लगाएको हुनसक्ने बताएका छन् । “हामी सबैको आवश्यकता हेरेर ऋण प्रवाह गर्दै आएका छौं । हाम्रा ग्राहकबाट एक रुपिया लिएका छैननौं ” कृषी बिकास बैंक लिं. शाखा कार्यालय दोधारा चाँदनीका प्रमुख गणेश चन्दले बताउनुभयो ।

असक्त महिला करणी आरोपमा एक बृद्ध पक्राउ

२४ जेठ, विर्तामोड ।
झापाको चकचकी गाविस– ६ की ४८ वर्षीया एक महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले गयराती  एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका ६० वर्षीय जीतवहादुर सुव्वा रहेका् छन् । उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले पक्राउ गरेको र इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

बोल्न नसक्ने महिलालाई सुब्बाले जवरजस्ती करणी गरेको खवर प्राप्त भएलगत्तै उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक खड्गवहादुर खत्रीले जानकारी दिनुभयो ।

पीडित महिलाको मेची अञ्चल अस्पताल भद्रपुरमा राति नै स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

नारी प्रेम, यौन, स्वतन्त्रता र समाज, नाटक भित्रको राजनीति “युमा”

राजनीतिमा नाटक घुसेको धेरै भयो, अब नाटकमा पनि राजनीति घुसेको छ । संसद्भवनमा नेताहरूले नाटक मञ्चन गरिरहेका वेला मण्डला थिएटरमा कलाकारले राजनीतिक विमर्श गरिरहेका छन् । नामबाटै नारीवादी लाग्ने नाटक युमाले समाज र राजनीतिका अनेक पाटा जोतेको छ, खेती गर्ने जिम्मा दर्शकलाई छाडिदिएको छ ।

युग पाठक जत्तिका लेखकले पाठककै सेवा गरेको भए पनि हुन्थ्यो, तर यसपालि उनी दर्शकको मथिंगल खल्बल्याउने प्रयासमा छन् । नाटककार बनेर उनी नयाँ युगको परीक्षार्थी बनेका छन् । उनलाई थिएटरसम्म डोर्‍याउने ‘गाइड’ बनेकी छिन् सिर्जना सुब्बा, जो आफैँ पनि निर्देशकका रूपमा प्राथमिक परीक्षामा बसेकी छिन् ।

खासमा युमाको स्टेज रत्नपार्कको भीडजस्तो लाग्छ, जसका पात्रहरू आ–आफ्नै मनोदशाले आहत छन् । उनीहरू एउटै हुलमा सलबलाइरहेका छन्, तर एक–अर्काको गन्तव्य, पीडा र महत्त्वाकांक्षाबारे अपरिचित छन् । पात्रहरू पालैपालो आउँछन्, एकसेएक राजनीतिक प्रश्न सोधेर दर्शकको गिदी गिजोल्छन्, तर जब उनीहरू ‘सिस्टम’माथि धावा बोल्छन्, रन्थनिएका दर्शक पनि राहत महसुस गरेर ताली बजाउन थाल्छन् ।

राजनीति र समाजका जटिल प्रश्नमाथि युमाको बहस मूलत: घोचक प्रस्तुति हो, तर संवादले नाटकलाई रोचक बनाएको छ । हो, माओवादीले समाज परिवर्तन गर्न जनयुद्ध लडेका थिए भन्ने मान्नुहुन्छ भने नाटकले तपार्इंलाई समर्थन गर्नेछ । माओवादीले समाज होइन, आफैँलाई परिवर्तन गरे भन्ने मान्नुहुन्छ भने नाटकले तपाईंलाई थप विश्वस्त बनाउनेछ । रेमिट्यान्सले साँच्चै देश बनाएको छ भन्ने मान्नुहुन्छ भने नाटकले तपाईंको हौसला बढाउनेछ, रेमिट्यान्सले घरपरिवार भत्काएको छ भन्ने मान्नुहुन्छ भने तपार्इंलाई थप विचलित बनाउनेछ ।

समाजका जटिल दर्शनमाथि लेखिएको नाटकको नामचाहिँ युमा किन भयो होला ? युमा त पक्कै पनि युवती हो, जो आफैँमा सुन्दर पनि छे । त्यो सुन्दर, कोमल युवतीलाई राजनीति र दर्शनका भारी किन बोकाइएको होला ? युगसँगको कफी बसाइमा मेरो पहिलो प्रश्न यही थियो, ‘युमा आखिर को हो ?’ उनलाई सायद यही प्रश्नको प्रतीक्षा रहेछ । भन्न थाले, ‘युमा सुन्दरी हो, युवती हो, ऊ हजुरआमा हो र देवी पनि हो । समग्रमा युमा एक मिथ हो ।’

युगले युमालाई लिम्बूग्रन्थ मुन्धुमबाट उठाएर ल्याएका हुन् । मुन्धुमकी सजीव पात्र युमालाई लिम्बू समाजले प्रेरणा मान्छ । व्यक्ति, परिवार र समाजलाई जोड्ने र तोड्ने मुन्धुमका अनेक मोडमा युमाको उपस्थिति अनिवार्यजस्तै छ । ‘ती युमाको पनि कुनै दिन बिहे भएको थियो । श्रीमान्, छोराछोरी र समाज थियो’ युमाको युग स्मरण गराउँदै युग भन्छन्, ‘तर तिनको मनमा पनि एक दिन प्रश्न आयो– आफ्नो ज्ञान, क्षमता र सर्वस्व एउटा परिवारमा मात्र कैद गरेर राख्नु समग्र मानवतामाथि अपराध होइन ?’ उनी घरबाट निस्किएर सर्लक्क बाटो लागिन्, कपालमा चाँपको फूल सिउरिएर लमक–लमक खोलाको किनारै–किनार अघि बढिन् ।’

परिवार र समाजबाट युमाले गरेको विद्रोह नारी स्वतन्त्रताका लागि अनुकरणीय अध्याय थियो भन्नेमा युगको ठहर छ । ‘हो, अहिले पनि लिम्बू बेहुली जब पहिलोपटक बेहुलाका घरमा जान्छिन्, साथमा युमा पनि लगिन्छिन् । जुन दिन त्यो घर बेहुलीका लागि असहज हुन्छ, लिम्बू युवतीले विद्रोह गरेर आफूलाई स्वतन्त्र घोषणा गर्छिन्, एउटी आम युवतीका लागि त्यति ठूलो साहसको स्रोत युमा नै हुन् ।’

विद्रोह, स्वतन्त्रता र सामथ्र्यकी प्रतीक युमा लिम्बू परिवारमा सीमित थिइन् । तर, अचानक बाहुन–क्षत्रीको आर्य समाजमा युमाहरू प्रकट हुन थालेका छन् । बेरोजगार युवाहरू खाडी र मलेसियामा पसिना बेचेर परिवारको सुख–समृद्धिका लागि दुई पैसाको जोहो गर्दै छन्, यता कैयौँ स्वतन्त्र युमाहरू रेमिट्यान्सको धुलो उडाउँदै छन्, परिवारको जग ढलाउँदै छन्, सामाजिक नैतिकतामाथि घनघोर आक्रमण गर्दै छन् । यो युगको वाणी होइन, मेरो पनि होइन ।

बरु, गाउँका चौतारा, सहरका चियापसल र पत्रिकाका पानाहरूमा पनि यस्ता गसिप जोडदार रूपमा उठ्न थालेका छन् । युमाहरूको चरित्रलाई कसरी संरक्षण गर्ने र समाजको नैतिक व्यवस्थालाई कसरी मर्यादित बनाइराख्ने भन्ने विषयमा बहस पनि हुन थालेको छ । तर, यता युगले भने परिवार भत्काउने युमालाई नै आदर्श नारीका रूपमा नाटककी नायिका बनाएका छन् । यो अनर्थ किन गरेको ? प्रश्न सुनेर उनी पुलकित भए, आफ्नो दर्शन छाँट्ने यस्तो सुन्दर मौका उनी कसरी गुमाउन सक्थे र ?

‘ठूलो संख्यामा नेपाली युवाहरू बिदेसिएको यो पहिलोपटक हो र ?’ भूमिका बाँध्न उनले नै प्रश्न गरे । सहजकर्ताका रूपमा मैले जवाफ दिन थालेँ, ‘होइन, पहिलो र दोस्रो विश्वयुद्धमा लाखौँ नेपाली लडाइँमा गए, ६५ हजारभन्दा बढीको त ज्यानै बेपत्ता भयो ।’ पृष्ठभूमि पुगेपछि उनी बोल्न थाले, ‘हो, ती जनजाति युवाहरू पसिना बगाउने श्रमबजारमा होइन, रगत बगाउने युद्धमा गएका थिए । युद्धमा जसले ज्यान गुमाए, जो बेपत्ता भए, तिनका सबै युमाहरूले नैतिकताको डोरी समातेर आफ्नो जीवनलाई झुन्ड्याएको भए आज त्यो समाज फैलिन्थ्यो कि लोप हुन्थ्यो ? हो, युद्धमा गएका लाहुरेहरू नफर्कन पनि सक्थे, फर्कनेले युमाहरूलाई आफ्नै घरमा नभेट्न पनि सक्थे । त्यसैले जनजाति समाजले परिवारको अस्तित्वलाई बन्धनमा होइन, स्वतन्त्रतामा स्वीकार्न थाल्यो ।’

युग आफैँ भन्छन्, ‘लाहुरे समाजका महिलाहरूले आफ्नो शरीर र सम्बन्धमाथि स्वाधीनता स्थापित गरेको धेरै भयो, त्यो समुदाय बढी उदार छ भन्ने मान्छेहरू पनि छन् । तर म भन्छु, यो प्रगतिशीलता हो । त्यो प्रगतिशील चेत आर्य समाजका युमाहरूमा भर्खर प्रवेश गर्न खोज्दै छ, त्यसैले त्यहाँ खैलाबैला मच्चिएको छ।’

श्रीमतीको माया र शरीरको चौकीदार श्रीमान् होइन, श्रीमतीले चाहेका वेला आफ्नो माया र शरीर जोसँग पनि साट्न सक्छिन् पनि भन्न भ्याए उनले । तर, परिवारको सुखका लागि विदेशी भूमिमा पसिना बगाइरहेका युवाकी श्रीमतीले आफ्नो शरीरलाई श्रीमान्को अधिकारबाट स्वतन्त्र गराइन् भने पुरुषको पसिनाले कसरी न्याय पाउला ? मैले यो प्रश्न सोध्नैपर्ने भयो । उनी जवाफ दिन आतुर देखिए, ‘हो, आज मलेसियामा दिनभर श्रम गरेर थाकेको युवा गाउँमा श्रीमतीले कतै बेइमानी पो गरी कि भनेर रातभरि पनि निदाउन सक्दैन । तर, त्यही मलेसियाको युवा कतै वेश्यालयतिर गयो कि भनेर गाउँकी महिलाको मनमा कुरा कहिल्यै खेल्दैन । आफूलाई अन्धविश्वास गर्ने श्रीमतीलाई नांगै अरूसँग खेलेको कल्पना गर्ने पुरुषले कसरी न्यायको कुरा गर्न मिल्छ ?’

तर, प्रश्न शरीरमाथिको स्वाधीनताको मात्र होइन, घरपरिवारको उज्वल भविष्यको कामना गर्दै मुग्लान पसेको युवाको पसिनाको पनि छ, श्रीमतीका नजरमा त्यो पसिनाको कुनै मूल्य हुँदैन ? मेरो प्रश्नमा उनी फेरि बर्सिए, ‘हो, पुुरुषले विदेशमा आठ घन्टा काम गर्छ, महिलाले गाउँमा १८ घन्टा काम गर्छिन् । दुई वर्ष काम गरेर फर्केपछि पुरुष जिन्दगीभर लाहुरे बनेर गाउँघर डुल्छ, श्रीमती जीवनभर नै श्रम गरिरहन्छिन् । अनि दुई वर्षको पसिनाको हिसाब खोज्ने व्यवस्थाले जीवनभरको श्रमको पनि हिसाब दिनुपर्छ ।’ यति भनेर युग चुरोट सल्काउन थाले । मैले धूम्रपान स्वास्थ्यका लागि हानिकार छ भनेर भन्न सकिनँ, किनकि प्रश्न अब एउटा व्यक्तिको स्वास्थ्यमा सीमित रहेन । प्रश्न त सिंगो समाजको भविष्य कता जाने भन्नेमा केन्द्रित भइसकेको छ ।

मेरो मनमा अर्को प्रश्न तरंगित भइरहेको थियो । खासमा पुरुष र महिलाले आ–आफ्नो शरीरलाई आत्मनिर्णयको अधिकारसहितको स्वायत्त गणराज्य घोषणा गरे भने पारिवारिक अखण्डता के होला ? ‘त्यो खण्डित हुन्छ, भत्किन्छ’ युगको कुरा सुनेर म अवाक् भएँ । ‘त्यो भत्किनुपर्छ’ मलाई चुप लगाएर उनी भन्दै गए, ‘पुरुषले चाहेका वेला भत्कने परिवार महिलाले मात्र थामेर चल्छ ? महिला होस् वा पुरुष, आफ्नो मन, तन र आकांक्षाको प्राधिकार स्वयं हो । एक–अर्काको स्वतन्त्रतालाई स्वीकार्दासम्म परिवार चल्छ, अस्वीकार भए युमाहरू घरबाट निस्कन सक्छन्, चाँपको फूल सिउरिएर खोलाको किनारै–किनार अघि बढ्न सक्छन् ।’

महिला अधिकारका लागि भइरहेको नागरिक संघर्षको कथा छँदै छ, राजनीतिक लडाइँको इतिहास पनि नाटकले स्मरण गरेको छ । हो, आर्थिक र सामाजिक समानताका नारा बोकेर युद्धमा होमिएका माओवादीहरूले महिलाका हातमा बन्दुक थमाइदिएका थिए । तिनै महिलाको मनोबल बढाउन पुरुषहरूमाथि ठाउँ–ठाउँमा ‘जनकारबाही’ भए । रक्सी खाएर हल्लिनेहरूले झापड खाए, श्रीमती कुट्नेले भाटा पाए, अझ बहुविवाह गर्नेले बन्दुकको गोलीसमेत खाए । त्यति मात्र होइन, कतिपय कमान्डर अन्तरजातीय बिहे गरेर समाजमा आफूलाई नमुनासावित गर्ने प्रयासमा पनि लागे ।

समाज बदल्ने नेताको काँधमा काँध मिलाउन उनकै जीवनसंगिनी बनेकी एक नेत्री पनि नाटकको सानदार भूमिकामा छिन् । तर, उनी अहिले एक्ली छिन्, किनकि अन्तरजातीय बिहे गरेर बिग्रिएको विगत सुधार्न उनका पतिले खानदानी घरलाई नयाँ ससुराली बनाएका छन् । जब कुनै पुरुष आफ्नै जीवनसंगिनीको सपना भत्काउन सक्छ भने कुनै महिला त्यो भत्किएको पर्खाल नाघेर बाहिर आउन किन सक्दिन ? युगको नाटकले उठाएको गम्भीर प्रश्न यही हो । भत्काउने अभियानको सुरुवात पुरुषले गरेका हुन्, त्यसलाई सार्थक बनाउने अभिभारा नारीले पूरा गर्नेछन् । युग र युमाले देखेको नेपाली समाजको सन्निकट भविष्य यही हो ।

Via:उमेश चौहान/enayapatrika

नेपाली स्वयंसेवी टोली कुमामोतोबाट फिर्ता

२४ जेठ, जापान ।
नेपाली स्वयंसेवी टोली जापानको कुमामोतो भूकम्प प्रभावित वस्तीमा सहयोगपछि फिर्ता भएको छ ।

प्रल्हादसिंह महतको नेतृत्वमा गएको नेपाली स्वयंसेवी टोली तीनदिने सहयोगपछि फर्कीएको हो ।

कुमामोतो क्षेत्र पुगेको नेपाली टोलीले भूकम्प प्रभावितहरुको घर घरमा पुगेर सरसफाई सहित भूकम्पमा परि भत्किएका घरमा रहेका सामान निकाल्ने लगायत व्यवस्थापनको काम गरेको थियो ।

स्वयंसेवी टोलिमा एनआरएन जापान अध्यक्ष सुदन थापा, एनआरएन जापान सल्लाहकार जिज्ञान कुमार थापा, एनआरएनका सचिव बुद्धीराज घिमिरे, नेत्र ज्ञवाली, केशव थापा, विइ फर अलका अध्यक्ष सरोजकुमार खत्री, योग गुरु नेत्र ज्ञवाली लगायतको सहभागीता रहेको थियो ।

गत अप्रिल १६ तारिखमा गएको ७.३ रेक्टर स्केलको शक्तिशालि भूकम्पमा परि कुमामोतो क्षेत्रमा ५० जनाको मृत्यु भएको थियो ।

हजारौं घाइते र लाखौं विस्थापित भएको सो क्षेत्रमा अझैपनि दशौं हजार व्यक्ति अस्थाई शिविरहरुमा आश्रय लिएर बसिराखेका छन् ।

यसअघि सोही क्षेत्रमा भूकम्प लगत्तै गैर आवसिय नेपाली संघ जापानको नेतृत्वमा गएको एक टोलीले भूकम्प प्रभावितहरुलाई नेपाली खाना सहितको सहयोग गरेको थियो ।

यसैबिच सोही क्षेत्रमा कुमामोतो भूकम्प प्रभावितहरुप्रति नेपाल र नेपालीको तर्फवाट सहानुभुती र ऐक्यबद्धता व्यक्त गर्न पुग्नुभएका जापानका लागि कार्यवाहक नेपाली राजदूत गहेन्द्रराज राजभण्डारी पनि फर्कीनुभएको छ ।

कुमामोतोमा रहँदा कावा राजदूत राजभण्डारीले नेपाली स्वयंसेवी टोलिको कामको निरिक्षण, भूकम्प प्रभावित वस्ति भ्रमण, त्यहाँका गर्भनर, मेयर सहित नेपाली विद्यार्थी र स्थानियसँग भेटघाट र छलफल गर्नुभएको थियो ।

नेपाली टोली जापान कुमामोतो भूकम्प पीडितको सेवा गर्दै (फोटो फिचर)

नेपाल र नेपालीको तर्फवाट कुमामोतो भूकम्प पीडितप्रति सहानुभुती र ऐक्यबद्धता (फोटो फिचर)

किस्तीकै भरमा दोधारा चाँदनीको कुतियाकबर

पप्पु गुरुङ्, २४ जेठ / कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा १० कुतियाकबरका बासिन्दाहरुले आफ्नै देश भित्र नदी तर्न पैसा तिर्नु पर्ने बाध्यता रहेको छ् । जोगबुडा नदीमा पुल नभएको कारण ओहरदोहर गर्न स्थानियहरुले पैसा तिर्न बाध्य भएका हुन् । नदी तर्न यहाँ डुङ्गा ( किस्ती ) को सहारा लिनु पर्छ । कुतियाकबरका स्थानियहरुले स्थानिय जगबुडा नदी ओहरदोहर गनै प्रति ब्यक्ती रु. ८ तिर्नु पर्ने हुन्छ् । “नदीमा पुल निमार्ण गरिदिन सबै संग आग्रह गर्‍यौं, कहि कतैबाट पहल हुनसकेन् ” स्थानियबासी टंकलाल जोशीले बताए । अहिले दोधारा चाँदनी गाबिसबाट रुपान्तरण भएर नगरपालिका बनिसक्यो । ३६ परिवारबाट अहिले आएर ४५ घरपरिवार भईसक्यो । उक्त क्षेत्रमा ९५ प्रतिशत दलित समुदायका मानिस बसोबास गर्दै आएका छन् । “सरकारले डुङ्गा संचालन गर्न ठेक्का दिन्छ् तर पुल निमार्ण गर्न कहिले वास्ता गरिदिएन्” स्थानिय जेशीेले भने । झण्डै चार दशक देखि आफुहरु नदीको वारी–पारी गर्दै आएको बताए । “डुङ्गा चढ्नुको बिकल्प छैन्” उनले थपे । बालबालिकालाई बिद्यालय पठाउन समेत गाहे हुने गरेको छ् । नदीमा डुङ्गा संचालन गर्न ठेक्का दिने निकायले झोलुङ्गे पुलको लागी पहल गर्नु पर्ने स्थानियहरुको माँग रहेको छ् । चालु आर्थिक वर्षमा दोधारा चाँदनीले रु. १ लाख ४८ हजारमा जगबुडा नदीमा डुङ्गा संचालनको लागी ठेक्का दिएको हो । “सबै जनाले दिनहु डुङ्गा चढ्न पैसा तिर्न सक्ने अवस्था छैन्” अर्का स्थानिय गग्न खत्रीले भने । यहाँका अधिकांश ब्यक्तीहरु भरतमा ज्याला मुजुरी गर्न बिकल्प छैन् । “झोलुङ्गे पुल भईदिएको भए, हामीहरुलाई बाच्न सहज हुने थियो” खत्रीको भनाई रहेको छ् । नदीमा डुङ्गा ओहरदोहर गर्न प्रतिब्यक्ती रु. ८, प्रति साईकलको रु. १६ र प्रति मोटरसाईकल रु. ४८ तिर्नु पर्छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web