भर्खरै,
धाविका मीरा राइले
‘साहसी व्यक्ति’को उपाधी जितिन्,
टेरिया फौजा मगरले
इन्डियाबाट ट्रफी ल्याइन,
पुष्पा बस्नेत
सिएनएन सुपर हिरो बनिन् ।
गायकी ठिकैठिकै भएका
प्रशान्त तामाङ पनि
इन्डियन आइडल बने ।

बुझ्नु भो,
यो सबै हाम्रो भोटको कमाल हो
हाम्रा मान्छेहरु जितेका जितै छन्,
अहोरात्र खटेर
हामी दिएको दियै छौं ।
तपाइँलाई थाहै होला,
कुनै बेला,
चन्दा उठाएर
दार्जिलिङ पुगेर
प्रशान्तलाई भोट हाल्ने
हामी नै हौं ।
भोट हालेर जित्ने ठाउँमा
हामीले गोर्खाली वीरता,
राष्ट्रिय एकता
र नेपालीपन
सबै देखाएका छौं ।

अझ फेसबुकमा
‘डिसलाइक’ बटन छैन र पो,
डिसलाइक गरेर मोदीलाई
प्रधानमन्त्रीबाट हटाउन मिल्ने भए
हामी के–के गर्थिम् होला,
राजदूत रेलाई २४घन्टामै
बोर्डर कटाउथिम् होला,
साच्ची, फेसबुकबाटै
कालोमोसो पोत्न मिल्ने भए
कसलाई पहिले दल्थिम होला
हँ ?

बुझ्नुभो प्रधानमन्त्रीज्यू,
तपाइँले हैसियत नभाको भनेपनि
हामीले आफ्नो हैसियत बनाएकै छौं,
कम्तीमा अहोरात्र अनलाइन बसेको
उसै खेर गएको छैन ।
त्यसैले गर्वसाथ भन्छु
जहाँ भए पनि
म नेपालीका लागि
अनलाइन भोटर हुँ ।

सम्झिन्छु,
फेसबुकमा
लाइक गरेर, भोट दिएर,
मोबाइलबाट म्यासेज पठाएर
इमेल गरेर, क्लिक गरेर,
काठमाण्डु–हेटौडा फास्ट ट्रयाक बन्ने भैदिए,
पूर्व–पश्चिम रेल सरर चल्ने भए,
मेलम्चीको पानी धारामा तु–आउने भए,
अरुण तेस्रो तुरुन्तै बन्ने भए,
स्थानीय चुनाव गर्न सकिने भए
कसैका मृगौला र्फेन सकिने भए,
मृत्युशैयाबाट फर्काउन सकिने भए
हामी कति गर्दा हौं ।

नेताज्यू,
नेपाली भोट पाउनेहरु
सबैले जितेका छन्
तपाइँ बाहेक ।
हाम्रो भोट पाएर पनि
तपाइँ हारिरहनु भएको छ ।
तपाइँकै नालायकीले
बेरोजगार बनेका हामी
सधैं अनलाइन बस्न बाध्य छौं ।
यही पारा भइरह्यो भने,
अनलाइनमा भोट हाल्ने बाहेक
केही गर्न नसक्ने हुनसक्छौं ।
त्यसैले, खबरदार,
अनलाइनबाटै तपाइँलाई
महाभियोग लगाउनु नपरोस् ।

© भानुभक्त आचार्य, २०७३ माघ १४

25.42¡ÆC