काठमाडौं, चैत्र २४ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले केहीदिनभित्रै एल.पी. ग्याँसको अभाव सहज हुने दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कार्यकारी निर्देशक खड्काले नेपाल आयल निगमले ग्याँसको अभावलाई ध्यानमा राख्दै आपूर्ति चुस्तदुरुस्त बनाउन ईण्डियन आयल कर्पोरेशनसँग ग्याँस आयातको मात्रा वृद्धि गर्नेवारेमा समेत छलफल भैरहेको भन्दै छिट्टै समस्याको समाधान हुने स्पष्ट पारे । आयोजित साक्षात्कारमा खड्काले भने,‘भारतसँग कुराकानी हुँदा उसले जति चाहिए पनि ग्याँस उपलब्ध गराउँछु भन्ने प्रतिबद्धता व्यक्त गरेको छ, त्यसैले अब केही दिनभित्र सहज हुन्छ भन्नेमा म विश्वस्त छु ।”
खड्काले निगमको आधिकारिक तथ्यांकमा ६२ लाख सिलिण्डर भएपनि हाल बजारमा ४ लाख बढि सिलिण्डर देखिएको कुरा सत्य भएको स्विकार्दै त्यसवारेमा पनि निगमले सत्यतथ्य पत्ता लगाई तीनलाई समेत कानुनी दायरामा ल्याउने जानकारी दिए । उनले भने,‘दैनिक माग बढेको कारण बढि सिलिण्डर देखिनु स्वभाविक हो ।’
खड्काले ईन्धनको लागि भारतसँग मात्रै भर पर्न नहुने भन्दै चीनसँग पनि ईन्धन आयातका लागि तयारी भैरहेको तर यातायात, मूल्य र भण्डारणका कारण तत्काल आपूर्ति गर्न नसकिने भएपनि छिट्टै त्यताबाट पनि आपूर्ति गर्नेगरि तयारी भैरहेको जानकारी दिए ।
खड्काले हाल डिजेल, पेट्रोल र हवाई ईन्धनको अभाव नभएको समेत स्पष्ट पारे । सरकारले ९० दिनलाई पुग्नेगरि पाँचखाल, नुवाकोट र खैरेनीमा ईन्धनको भण्डारण केन्द्र आगामी २ वर्षभित्रै निर्माण गर्ने तयारी समेत गरिरहेको जानकारी दिए ।
काठमाडौं प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले ग्याँसको कृत्रिम अभाव सिर्जना गर्ने जो कोहीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी सुवेदीले हाल बजारमा ४ लाख अवैध ग्याँस सिलिण्डर भित्रिएको बताए । गत मार्चको तुलनामा यस मार्चमा झण्डै ३० हजार मेट्रिक टन ग्याँस भित्रिँदा पनि उपभोक्ताहरु ग्याँसको अभाव झेल्न बाध्य भएको भन्दै कालोबजारी नियन्त्रण गर्न राजधानीमा प्रभावकारी रुपमा अनुगमनका काम भएको जानकारी दिए ।
सुवेदीले अनुगमनमा बढि मुल्य लिने गरेको, कम तौल भएका सिलिण्डर भेटिएका, ग्याँसको कृत्रिम अभाव सिर्जना गरेको र कालोबजारीमा संलग्न भएको लगायतका समस्याहरु देखिएको जानकारी दिए । उनले गत फागुण २७ देखि आजसम्म ग्याँसको अवैध कारोवारसम्वन्धी करिव १३ वटा मुद्दा दायर भएको र ५ सय ६७ वटा भरि सिलिण्डर जफत गरेको जानकारी दिए । आफूले कालोबजारी नियन्त्रण तथा बजार अनुगमन गर्न दैनिक तीन वटा अनुगमन टोली परिचालन गरेको समेत बताए ।
उनले अनुगमनबाट उद्योगी व्यवसायीहरुलाई नतर्सिन समेत आग्रह गरेका छन् । उनले भने,‘अनुगमन निकायले अनुगमन गर्छ र गर्न दिनुपर्छ, कसैले तर्सिनुपर्दैन्, हतोत्साहित हुनुपर्ने कुनै कारण छैन ।’ उनले अनुगमन कार्यलाई चुस्तदुरुस्त बनाउन आम नागरिकलाई सचेत हुन आह्वान गर्दै कहीँ कतै बद्मासी गरेको पाईए सूचना दिएर सहयोग पु¥याउन अपिल समेत गरे ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुल धितालले पछिल्लो ५ महिनामा खाली भएको ६२ लाख सिलिण्डर नभरिएसम्म पूर्ण रुपमा ग्याँसको अभाव सहज नहुने बताए ।
धितालले ग्याँस आपूर्तिमा देखिएको असहज स्थितिलाई सामान्यीकरण गर्न उपभोक्ता, उद्योगी लगायत सवै तहतप्काबाट जिम्मेवारपूर्ण भूमिका प्रवाह गर्नुपर्ने बताए ।
उनले अनुगमनमा जाँदा कतिपय ठाउँमा ग्याँस पाईएको तर बढि मूल्य असुली लिईएको, कृत्रिम अभाव सिर्जना गर्नेजस्ता समस्याहरु देखिएपनि आफूहरुले प्रभावकारी रुपमा अनुगमन गरिरहेको जानकारी दिए ।
उनले भने,‘‘बजारमा अभाव सिर्जना भैरहेको छ, मौका मिल्नासाथ बढि मूल्य असुल्ने गरेको भेटिएको छ, तत्काल वितरण प्रणालीलाई सहज बनाउन हामी प्रभावकारी भूमिका खेल्छौं ।’’
नेपाल एल.पी. ग्याँस उद्योग संघका अध्यक्ष शिव प्रसाद घिमिरेले ग्याँसको अभाववारे राज्यले नै अफावह फैलाएको भन्दै आपत्ति जनाएका छन् । घिमिरेले आफूहरुमाथि अनुगमनको नाममा राज्यको चाहिनेभन्दा बढि नै हस्तक्षेप भएको आरोप लगाए ।
उनले भने,‘सरकारले आयात र माँगवारे कुनै स्पष्ट जानकारी नै नराखी हल्ला फिजाउँदा समस्या उत्पन्न भएको हो, अब हामी छिट्टै वितरण प्रणालीवारे जानकारी गराँछौं ।’ घिमिरेले विगत ७ महिनाको अवधिमा १ लाख २७ हजार ७ सय ४४ मेट्रिक टन ग्याँस आयात भएपनि माँग २ लाख ५ हजार ९ सय १२ भएकाले समस्या उत्पन्न भएको जिकिर गरे ।
उनले भने,‘माग बमोजिम ग्यासको अभाव समाधान गर्न झण्डै ७९÷८० हजार मेट्रिक टन अतिरिक्त ग्याँसको व्यवस्था गर्नुपर्छ ।’ उनले खाली रहेको करिब ५५ लाख सिलिण्डर तत्काल भर्न सरकारले चासो नदेखाए आगामी एक वर्षमा समेत ग्याँस अभावको समस्या हल नहुने ठोकुवा गरे ।
16.06¡ÆC