काठमाडौं,असोज २ ।प्रधानमन्त्री प्रचण्डसँग शुक्रबार भएको व्यक्तिगत र औपचारिक वार्ताका आरम्भमा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध गंगा र हिमालयबाट निर्धारित रहेको बताएका थिए । उच्च स्रोतका अनुसार मोदीले यो सम्बन्ध सुदृढ पार्ने दायित्व वर्तमान नेतृत्वले लिनुपर्ने भन्दै प्रचण्डको पनि समान दृष्टिकोण देखेर आफू प्रभावित भएको बताएका थिए । ‘नेपाल–भारत सम्बन्ध परिपूर्ण बनाउँ, दुवै पक्षलाई लाभ हुन्छ,’ मोदीको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले मोदीलाई धार्मिक र राजनीतिक भ्रमणका लागि दिएको निम्तोको जवाफमा मोदीले छिटै समय मिलाउने पनि बताएका छन् ।

भेटमा मोको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले राष्ट्रपतिजी जाँदै हुनुहुन्छ, यो सफल पारौँ । म पनि नेपाल भ्रमणको समय जुराउनेछु ।’ दुवै प्रधानमन्त्रीबीच हटलाइनमा रहेर आपसी समस्या समाधान गर्ने सहमति भएको छ ।

यसबारे मोदीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसलाई चाँडै नै व्यवस्थित बनाउन म हरसम्भव कोसिस गर्नेछु ।’ डिपिआरमा मोदीको जोड भारतीय प्रधानमन्त्री मोदीले माथिल्लो कर्णाली, सप्तकोसी उच्च बाँध र पञ्चेश्वरको नाम नै लिएर डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्न नेपालसँग आग्रह गरेका छन् ।

‘पहिला डिपिआर तयार गरौँ, त्यसपछि शीघ्र कार्यान्वयनमा जोड दिउँ, भारत आफ्नोतिरको सबै समस्या समाधान गर्न तयार छ, तपाईँहरू पनि गर्नुहोस्,’ मोदीको भनाइ उद्धृत गर्दै एक नेपाली अधिकारीले उल्लेख गरेको नयाँ पत्रिकाले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले सन् १९५० को सन्धिमा के–के संशोधन गर्ने भन्ने विषय समेटेर प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।

यसअघि सन् २०१४ मा नेपाल भ्रमण गर्दा पनि मोदीले यही भनेका थिए । स्रोतका अनुसार प्रचण्डसँग मोदीको भनाइ थियो, ‘के–के संशोधन गर्ने हो, प्रस्ताव ल्याउनुस्, आपसी हित र सम्बन्ध सुदृढ हुने गरी जे गर्नुपर्छ, गरौँला ।’ उनले प्रबुद्ध समूहले जनताबीचको सम्बन्ध परिवर्तित हुने गरी प्रस्ताव ल्याउने पनि अपेक्षा व्यक्त गरेका थिए ।

मोदीले एकीकृत जाँच चौकीमा नेपालतिरको समस्या समाधान गर्न आग्रह गरेका छन् । मोदीले सीमापार रेल्वेका लागि नेपालतर्फ जग्गा अधिग्रहणलगायतको समस्या समाधान गर्न पनि आग्रह गरे । पेट्रोलियम र ग्यास पाइपलाइनमा संयुक्त रूपमा काम गर्न र नयाँ सम्भावना खोज्न पनि मोदीले आग्रह गरेको स्रोतले बतायो ।

काठमाडौं–लुम्बिनी रेल सर्भे प्रस्ताव प्रचण्डसँग मोदीले काठमाडौं–लुम्बिनी रेल्वे लाइनको सर्भेका लागि बैठकमा प्रस्ताव गरेका थिए । नेपाल र चीनबीच चीनले सर्भे गर्ने सहमति यसअघि नै भइसकेको छ । ‘हामीलाई यो आग्रह गर्नुहुन्छ भने कार्यान्वयनका लागि तयार छौँ,’ मोदीको भनाइ उद्धृत गर्दै एक अधिकारीले भने ।

19.12¡ÆC