‘संविधान संशोधन प्रक्रिया अघि बढ्छ’

काठमाडौं, भदौ १३ । कानुनमन्त्री अजय शंकर नायकले संविधान कार्यान्वयको लागि आवश्यक पर्ने ऐन, कानुनहरु द्रुत गतिमा निर्माण भैरहेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने सबै ऐन तथा कानुनहरु द्रुत गतिमा निर्माण भैरहेको बताएका हुन् । उनले भने,‘प्राथमिकताका आधारमा अहिले ऐन तथा कानुनहरु धमाधम निर्माण गर्ने काम भैरहेको छ, मैले सम्बन्धित निकायलाई निर्देशन दिईसकेको छु ।’

साक्षात्कारमा बोल्दै मन्त्री नायकले सरकारको प्रमुख दायित्व नै संविधान कार्यान्वयन गर्नु भएकोले आवश्यक विद्येयकहरु तिव्र गतिमा निर्माण भैरहेको जनाए । उनले अघि थपे,‘संविधान कार्यान्वयन हुँदैन कि भनेर अहिले शंका–उपशंका भैरहेको छ, ढुक्क हुनुहोस संविधान कार्यान्वयन हुन्छ ।’

मन्त्री नायकले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानुनहरु असोज ३ गतेभित्रै निर्माण गर्न समेत आफूले निर्देशन दिएको जनाए । भाषा आयोग, उच्च अदालत गठन, न्याय परिषद, न्याय सेवा गठन लगायत अन्य कुराहरुमा समेत कानुन निर्माण छिट्टै गरिने मन्त्री नायकको विश्वास थियो ।

त्यस्तै उनले तीन वर्षभित्र गर्नुपर्ने कामहरु समेत सरकारले प्राथमिकताका आधारमा गर्ने तयारी गरेको स्पष्ट पारे । नायकले शान्तिप्रक्रियालाई निश्कर्षमा पुर्याउन टिआरसीसम्बन्धी बनेको विद्येयक संशोधन गर्ने गृहकार्यमा आफू जुटेको स्पष्ट पारे ।

नायकले संविधानका ३१५ वटा ऐनमा शब्द संशोधन वा पूर्नलेखन गर्नुपर्ने भएकाले त्यसलाई पनि चाँडै टुँक्याउनेगरि काम थालेको जनाए ।

स्थानीय निकायको चुनाव हुन्छ

उनले स्थानीय निकायको निर्वाचनसम्बन्धी बनेको विद्येयक संशोधन गरेर गृहमन्त्रालयमा पेश गरेको समेत जनाए । उनले अघि थपे,‘अहिले स्थानीय निकायको चुनाव हुन्छ कि हुँदैन भनेर व्यापक चर्चा भएको छ, चुनावको लागि राष्ट्रिय सहमतिको आवश्यक छ, सरकार अहिले गृहकार्यमा जुटेको छ ।’ स्थानीय निर्वाचसम्बन्धी बनेको विद्येयकको डा«फ्ट संसदमा टेबुल गर्ने उनले बताए ।

संविधान कार्यान्वयनको लागि पनि तीनवटै निकायको निर्वाचन संविधानले निर्दिष्ट गरेबमोजिम आगामी ०७४ माघ ७ गतेभित्रै सम्पन्न गर्नुपर्ने बाध्यता रहेकोले सरकारले त्यसको तयारी गरेको उनले स्पष्ट पारे । ‘‘पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्छ, हामी यसको तयारीमा जुटिसकेका छौं, उनले थपे ।’

छिट्टै संविधान संशोधन प्रस्ताव अघि बढ्छ

उनले असन्तुष्टहरुको माग सम्बोधन गर्न सरकारले छिट्टै संशोधन प्रस्ताव अघि बढाउने जनाए । उनले अघि थपे,‘समय तोक्दिन तर छिट्टै संशोधन प्रस्ताव अघि बढ्छ, दलहरुवीच आन्तरिक छलफल चलिरहेको छ, एउटा निश्कर्ष आएपछि यो प्रक्रिया अघि बढ्छ ।’

संविधान संशोधनमा एमालेले नसघाउने निर्णय गरेको छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने,‘एमाले पनि यो देशको जिम्मेवार पार्टी, उसले सहयोग गर्छ भन्नेमा म चाहीँ आशावादी छु ।’ उनले एमालेका नेताहरुले राष्ट्रिय नेताको भूमिका निर्वाह गर्नुपर्ने समेत बताए ।

संविधानप्रति असन्तुष्ट मधेशी मोर्चासँग भएको तीन बुँदे सहमति कार्यान्वयनतर्फ उन्मुख रहेको उल्लेख गर्दै मन्त्री नायकले भने,‘सरकारले महत्वपूर्ण निर्णय गरिसकेको छ, अब मधेशको समस्या साधान हुन्छ भन्नेमा म पुर्ण विश्वस्त छु, यो कुरा स्वयम मोर्चाका नेताहरुले पनि महशुस गर्नुभएको छ ।’

मधेश लगायत सबैको समस्या समाधान गर्ने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गम्भिर रहेको उनको विश्वास थियो । उनले अघि थपे,‘प्रधानन्त्रीज्यूले प्रशंसनीय कदम चाल्नुभएको छ । उहाँले सबैलाई मिलाएर लैजान सक्नुहुन्छ ।’

सरकारको प्राथमिकतामा सुशासन, भुकम्पपछिको मुलुकको पूर्ननिर्माण, जनतालाई प्रत्यक्ष राहत हुने कार्यक्रम र आर्थिक समृद्धि रहेको उल्लेख गर्दै यही दिशामा काम भैरहेको जनाए । उनले भने,‘जनतालाई प्रत्यक्ष राहत दिने कुरामा सरकार पूर्ण जिम्मेवार छ, हामी सुशासनदेखि मुलुक समृद्धि यही सेरोफेरोमा सम्भब छ भन्ने हिसावले काम गरिरहेका छौं, सबैको साथ र सहयोग आवश्यक छ ।’

19.12¡ÆC