
काठमाडौँ । बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात अर्नब नेपाल आइपुग्दा केही कमजोर बन्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी वरिष्ठ मौसमविद विभूति पोखरेलले भिडियो सन्देश जारी गर्दै अहिले बङ्गालको खाडीमा रहेको शक्तिशाली चक्रवात भोलि बुधवारसम्म भारतीय भूमिमा प्रवेश गर्ने र नेपाल आइपुग्दा कमजोर हुने देखिएको जानकारी गराउनुभएको हो ।
उहाँका अनुसार ढिला भए पर्सि बिहीवार बिहानसम्ममा चक्रवात भारतीय जमिनमा प्रवेश गरेर उत्तरपश्चिम नेपालतर्फ अघि बढ्नेछ ।
समुद्री सतहमा रहँदा अत्यन्त शक्तिशाली चक्रवातका रूपमा रहेको अर्नब जमिनी सतहमा प्रवेश गरेपछि कमजोर बन्ने देखिएको र नेपाल नजिक आउँदा अझै कमजोर बन्ने उहाँले भिडियोमा बताउनुभएको छ । तर प्रणाली कमजोर बने पनि यसको पछिल्लो अनुमानित मार्ग नेपालतर्फ देखिएकाले त्यसबाट पर्न सक्ने असरलाई बेवास्ता गर्न नमिल्ने उहाँको भनाइ छ ।
चक्रवातको प्रभावले नेपालका विभिन्न ठाउँमा सामान्यदेखि मध्यम वर्षा, केही ठाउँमा मुसलधारे वर्षा र उच्च हिमाली क्षेत्रमा अत्यधिक हिमपात गराउन सक्ने भएकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।
मौसम पूर्वानुमान महाशाखाले यसअघि नै बिहीवार, शुक्रवार र शनिवारका लागि चेतावनी जारी गरिसकेको छ । महाशाखाले तीन दिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । चक्रवातको प्रभावले नेपालका धेरै ठाउँमा वर्षा हुने सम्भावना छ । चक्रवातको तीव्रता केही घटे पनि उच्च हिमाली क्षेत्रमा उच्च सतर्कता आवश्यक पर्ने र धानबाली भित्र्याउने किसानले उच्च सावधानी अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि मौसम पूर्वानुमान महाशाखाको अनुमानलाई आधार बनाउँदै बिहीवारदेखि शनिवारसम्म उच्च सावधानी अपनाउन आग्रह गरेको छ ।
19.01¡ÆC