
नुवाकोट । नेपालीहरूको महान् चाड विजयादशमीको अवसर पारेर नुवाकोटको तारकेश्वर गाउँपालिका–१, सेलगाङमा तेस्रो सेलगाङ कप फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।
सेलगाङ युवा समाजको आयोजनामा हुने प्रतियोगिता असोज २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका लागि टिम दर्ता असोज १५ गतेदेखि २० गतेसम्म खुला गरिएको सेलगाङ युवा समाजका अध्यक्ष उपास तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताको टाइसिट असोज २१ गते निकालिनेछ।
प्रतियोगिताका खेलहरू तारकेश्वर गाउँपालिका–१, सेलगाङस्थित मिनिकप खेल मैदानमा सञ्चालन हुनेछन्। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले तोकिएको समयभित्र टिम दर्ता गराउनुपर्ने अध्यक्ष तामाङले स्पष्ट पार्नुभयो।
प्रतियोगिताको विजेता टोलीले रु. १ लाख १ सय ११, उपविजेताले रु. ५० हजार १ सय ११ तथा सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु. १५ हजार पुरस्कार प्राप्त गर्नेछन्। विजेता, उपविजेता तथा सेमिफाइनलिस्ट टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक लगायत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
सेलगाङ युवा समाजले विगतदेखि नै सामाजिक तथा खेलकुद क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै तारकेश्वर गाउँपालिका–१ का वडा सदस्य लोप्चनले प्रतियोगिताको सफलताका लागि सबैलाई सहयोग र सहभागिताका लागि आग्रह गर्नुभएको छ।
स्थानीय समाजसेवी एंव खेलप्रेमी समेत रहनुभएका प्रिते लोप्चनले सेलगाङ युवा समाजले सामाजिक तथा खेलकुद क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै यसपटकको प्रतियोगिताले युवाहरूलाई खेलकुदसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँका अनुसार प्रतियोगितामार्फत स्थानीय खेलाडीको पहिचान हुनुका साथै नयाँ खेलाडी उत्पादनमा समेत सहयोग पुग्नेछ। साथै, युवाहरूबीच सामाजिक एकता र भाइचाराको भावना अभिवृद्धि गर्दै खेलकुदका माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्न प्रतियोगिता महत्वपूर्ण हुने उहाँको विश्वास छ।
“प्रतियोगितामार्फत खेलाडीको पहिचान, नयाँ खेलाडीको उत्पादन, युवाहरूबीच सामाजिक एकता तथा भाइचाराको सन्देश प्रवाह हुनेछ। यसले तारकेश्वरमा खेल पर्यटन वृद्धि गर्नसमेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ,” लोप्चनले भन्नुभयो।
विजयादशमीको अवसरमा आयोजना हुने प्रतियोगिताले तारकेश्वर तथा आसपासका क्षेत्रका युवालाई खेलकुदमा सक्रिय बनाउनुका साथै स्थानीय खेल प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको वातावरण निर्माण, युवाबीच आपसी सद्भाव र सहकार्य अभिवृद्धि तथा खेल पर्यटनको सम्भावनालाई उजागर गर्न सहयोग पुग्ने आयोजकको भनाइ छ।
सेलगाङ युवा समाजले प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न खेलाडी, खेलप्रेमी, स्थानीयवासी, संघसंस्था तथा शुभेच्छुक सबैलाई सहयोग, सहभागिता र उपस्थितिका लागि आग्रह गरेको छ।
27.12¡ÆC