१ भदौ, काठमाडौं ।
चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्री ली खछयाङसित बेइजिङमा आज भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतका रुपमा चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री महरा र प्रधानमन्त्री लीका बीचमा आधाघन्टा कुराकानी भएको उपप्रधानमन्त्री महराका सञ्चार सल्लाहकार त्रिभुवन पौडेलले राससलाई जानकारी दिनुभयो ।

चिनियाँ राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री लीको शीघ्र नेपाल भ्रमणका विषयमा उहाँहरु बीचमा कुराकानी भएको र चिनियाँ प्रधानमन्त्री लीले राष्ट्रपति र आफू नेपाल भ्रमण गर्न सकारात्मक भएको उपप्रधानमन्त्री महरालाई जानकारी गराउनुभएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

उच्चस्तरीय भ्रमणका लागि दुवै देशका परराष्ट्र मन्त्रालय तदारुकताका साथ आवश्यक तयारी गर्नेबारे पनि उहाँहरुका बीच कुराकानी भएको थियो । उपप्रधानमन्त्री महरा र प्रधानमन्त्री लीका बीचमा आपसी हित, द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो ।

त्यसैगरी भेटवार्तामा दुई देशको भ्रमणका विषयमा उपप्रधानमन्त्री महराले प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश चीनका प्रधानमन्त्रीलाई सुनाउनुभएको थियो ।

चिनियाँ प्रधानमन्त्री लीले दुई देशबीचको सम्बन्धलाई थप मजबुद बनाएर लैजान चीनको चाहना रहेको उपप्रधानमन्त्री महरालाई अवगत गराउनुभएको थियो ।

प्रधानमन्त्री दाहालको विशेष दूतका रुपमा उपप्रधानमन्त्री महरा सोमबार चीन प्रस्थान गर्नुभएको थियो ।

17.12¡ÆC