“मलाई फेरि त्यही बालापन फर्काइदेऊ…”

पहिले गाउँमा दुःख त थियो, तर त्यो दुःखभित्र पनि छुट्टै रमाइलो लुकेको हुन्थ्यो। चाडपर्वको उत्साह नै बेग्लै थियो । वैशाख पूर्णिमाको जात्रा जान पैसा जुटाउनु, जात्रामा बरफ खाँदै बासुरी र चस्मा किन्नु, स्कूलमा निबुवा, भोगटे, अमला र अमिली बाँडेर खानु— यी सबै साना–साना खुसीहरू नै जीवनका सबैभन्दा ठूला सम्पत्ति थिए ।

काठको गाडी बनाएर गाउँका बाटामा घिरैली खेल्दै हिँड्नु, मेलापात र बनपाखामा गोठालो जाँदा गीतका भाका गुनगुनाउनु, गाउँका बाहरूले खाएको तमाखुको गन्धले बस्तीभरि फैलिएको आफ्नै किसिमको सुगन्ध, भोक लाग्दा बासी भात, मकैको रोटी र त्यो पनि हारालुछ गरेर खानुको स्वाद— आहा! त्यो रमाइलो आज पनि मनभरि ताजै छ ।

पानी परेपछि “खनायो पाक्यो कि?” भन्दै फेद–फेद चाहारिन्थ्यो। जंगलका आँप कति मिठा लाग्थे! बनतरुल खन्न, कटुस टिप्न र वनका फलफूल खोज्दै दिनभरि जंगल डुलिन्थ्यो। घाँसको भारीले थिचिएको थाप्लो बोकेर घर फर्किएकी आमाले दिएको तातो दूध र भात हतारहतार खाएर स्कूल जाँदा उकालोमा पेट चस्किएको सम्झना अझै ताजै छ ।

दशैँ आउँदा चौतारीमा हालिएका पिङ, कमेरो माटोले घर लिपपोत गर्न घण्टौँ लगाएर माटो ल्याएको मेहनत, वर्षमा बल्ल एउटा नयाँ लुगा— त्यो पनि स्कूलको ड्रेस। त्यही लुगा लगाएर खल्तीभरि कुटेर ल्याएको बास्ना आउने चिउरा खाँदै पिङ खेल्दा ठूलै युद्ध जितेजस्तो लाग्थ्यो । त्यही लुगा लगाएर मामाघरसम्मको यात्रा गर्नु आफैंमा एउटा ठूलो खुसी थियो ।

तिहार आउँदा देउसी–भैलोको रौनक झन् बेग्लै हुन्थ्यो । मिलेर खेल्नु, चामल र पैसा भाग लगाउनु, रातभरि हाँस्दै रमाउँदै बितेका ती रातहरू कति सुन्दर थिए ! खोलाभरि अम्बा, फलिट र बयर पाक्थे। खानका लागि लुछाचुँडी नै पर्थ्यो ।

बेलुका घरमा बाहरू मकै छोडाउँदै, दाम्ला–नाम्ला बनाउँदै बस्नुहुन्थ्यो । कथा सुनाउनुहुन्थ्यो, दुःख–सुखका कुरा गर्नुहुन्थ्यो, आफन्तको सम्मान, इज्जत र मानवीय सम्बन्धको महत्त्व सिकाउनुहुन्थ्यो ।

तर अहिले सबैका हातमा मोबाइल छ । कोही कसैसँग बोल्दैन । सबै आ–आफ्नै संसारमा हराएका छन्। इज्जत हराएको छ, सम्मान हराएको छ, आत्मीयता हराएको छ । कसैलाई कसैको मतलब छैन। पहिले गाउँभरि मानिसहरू थिए । अर्मपर्म हुन्थ्यो, चौतारीमा बसेर सुख–दुःख साटासाट हुन्थ्यो। मनहरूबीच यति गहिरो आत्मीयता थियो कि, त्यो बेलाको अभाव र गरिबी पनि आज सम्झँदा स्वर्गजस्तै लाग्छ ।

आज समय फेरिएको छ। गाउँमा बाटो पुगेका छन्, बिजुली पुगेको छ, सुविधा पुगेका छन् । तर ती सुविधा उपभोग गर्ने मान्छेहरू नै छैनन् । गाउँ रित्तिएको छ । कोही बिरामी पर्दा एक कचौरा तातोपानी तताएर दिने मान्छे छैन । कसैको मृत्यु हुँदा लास उठाउने मलामीसमेत पाउन गाह्रो भइसकेको छ। भौतिक विकासले गाउँलाई सजायो, तर गाउँको आत्मा भने कतै हरायो ।

यस्तो सुनसान र रित्तो गाउँ सम्झिँदा मन भक्कानिएर आउँछ। अहिले गाउँघरका साथीसङ्गी, आफन्त मात्र होइन, आफ्नै घरका मान्छे पनि टाढा छन् । आफ्नोपन हराएको छ। सम्बन्धमा आत्मीयताको सट्टा रिस, डाहा, क्रोध र स्वार्थले ठाउँ लिएको छ । आज धेरैले आफ्नो बाहेक अरू कसैको बारेमा सोच्नै छोडेका छन् ।

त्यसैले, आज कसैले मलाई “तँ के माग्छस्?” भनेर सोध्यो भने, म बिना कुनै हिचकिचाहट एउटै कुरा माग्नेछु— “मलाई त्यही अभावले भरिएको, तर आफ्नाहरूको न्यानो माया, अपनत्व र साथले उज्यालो बनेको मेरो प्यारो बालापन फर्काइदेऊ। किनकि त्यो अभावमा पनि साँचो सुख थियो, साँचो सम्बन्ध थियो, र जीवन साँच्चिकै जीवनजस्तै थियो।”

 

दिपक अधिकारी ठेगाना: नुवाकोट हाल: जापान

प्रतिक्रिया

TOP