
आज वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाइँदैछ। नेपालमा चिया केवल पेय पदार्थ मात्र होइन, यो श्रम, संस्कार, पहिचान, रोजगारी र आर्थिक समृद्धिसँग जोडिएको अमूल्य कृषि उपज हो।
हरेक वर्ष चिया दिवसले नेपाली चियाको इतिहास, गुणस्तर, उत्पादन र भविष्यप्रतिको प्रतिबद्धतालाई स्मरण गराउने गर्दछ। यस अवसरमा नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–४ घ्याङस्वारा क्षेत्रमा श्रम, योजना र दूरदृष्टिका साथ अघि बढाइएको चिया खेती अभियान आज विशेष रूपमा चर्चा योग्य बनेको छ।
तीन वर्षअघि घ्याङस्वाराको डाँडाकाँडा र खाली जमिनलाई हरियालीमा रूपान्तरण गर्ने सपना बोकेर पञ्चकन्या गाउँपालिकाले एक महत्वाकांक्षी अभियान प्रारम्भ गरेको थियो। तत्कालीन प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत बेरोजगार नागरिकहरूलाई रोजगारीको अवसर प्रदान गर्दै, गाउँपालिकाको आफ्नै लगानी र साझेदारीमा दीर्घकालीन आम्दानीको स्रोत सिर्जना गर्ने उद्देश्यले चिया खेती विस्तारको योजना अघि बढाइएको थियो।
त्यतिबेला धेरैले प्रश्न गरे—यो जमिनमा चिया सम्भव छ र? उत्पादन दिन्छ र? सफल होला र? तर श्रम, इच्छाशक्ति र योजनाबद्ध कार्यान्वयनले आज ती सबै प्रश्नको जवाफ हरियाली बगानले दिइरहेको छ।
सो अभियान अन्तर्गत १२ हजार ५० वटा चियाका बिरुवा रोपिएका थिए। सूचीकृत बेरोजगार नागरिकहरूको सक्रिय सहभागिता, गाउँपालिकाको लगानी, जनप्रतिनिधिहरूको अग्रसरता तथा प्राविधिक मार्गदर्शनका कारण घ्याङस्वारा क्षेत्र क्रमशः हरियो चिया बगानमा परिणत हुँदै गयो।

- लेखक सरोजकुमार खाती, पञ्चकन्या गाउँपालिकामा रोजगार संयोजक हुनुहुन्छ ।
यस परियोजनाले केवल बिरुवा रोप्ने काम मात्र गरेन, श्रमको सम्मान, रोजगारीको सिर्जना र सार्वजनिक लगानीको प्रतिफल व्यवहारमै देखायो। काम खोजिरहेका नागरिकहरूलाई गाउँमै श्रम गर्ने अवसर प्रदान गरियो, उनीहरूको श्रमलाई सम्मान गरियो, र सोही श्रमलाई स्थायी आम्दानीको स्रोतमा रूपान्तरण गर्ने प्रयास गरियो।
आज तीन वर्षपछि ती बिरुवाहरूले उत्पादन दिन सुरु गरेका छन्। हरियाली बोटहरूमा पलाएका कोमल पातहरूले अब श्रमको प्रतिफल देखाउन थालेका छन्। यसले घ्याङस्वारा मात्र होइन, सिंगो पञ्चकन्या गाउँपालिकालाई नयाँ सम्भावनाको ढोका खोलिदिएको छ। अब यहाँ चिया उत्पादनसँगै प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ र बजार व्यवस्थापनका नयाँ अवसरहरू सिर्जना हुन थालेका छन्।
यो अभियानले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ—सरकारी कार्यक्रम केवल राहत वितरणका लागि होइन, उत्पादन र समृद्धिका लागि पनि हुन सक्छ। प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचीकृत बेरोजगार नागरिकहरूलाई काममा लगाई, गाउँपालिकाले आफ्नै क्षेत्रको सम्पत्ति निर्माण गरेको छ। यसले सार्वजनिक स्रोतको सदुपयोगसँगै स्थानीय सरकारको दूरदर्शी सोचलाई पनि उजागर गरेको छ।
घ्याङस्वाराको हावापानी, उचाइ, माटो र वातावरण चिया खेतीका लागि अनुकूल मानिन्छ। प्राकृतिक सुगन्ध, स्वाद र गुणस्तरयुक्त उत्पादनतर्फ उन्मुख यो क्षेत्र भविष्यमा “पञ्चकन्या घ्याङस्वारा चिया” का नामले परिचित हुन सक्ने प्रचुर सम्भावना बोकेको छ।
आज घ्याङस्वारामा चियाका हरिया पातहरू हल्लिँदा त्यो केवल बोटको कम्पन होइन, त्यो श्रमिकको सम्मान हो, बेरोजगारको आत्मविश्वास हो, गाउँपालिकाको दूरदृष्टि हो, र समृद्धिको संकेत हो । आज वैशाख १५ गते चिया दिवस मनाइरहँदा हामीले एक कप चिया पिउँदै यसको स्वाद मात्र होइन, यसभित्र मिसिएको श्रम, संघर्ष, सम्मान र आत्मनिर्भरताको सन्देश पनि सम्झनुपर्छ।
पञ्चकन्या गाउँपालिकाको घ्याङस्वारा चिया खेती अभियान आज चिया दिवसको अवसरमा गौरवका साथ प्रस्तुत गर्न मिल्ने सफल उदाहरण बनेको छ।
हरियो बगान बढोस्, उत्पादन फस्टाओस्, श्रमको सम्मान होस्, गाउँपालिकाको आम्दानी बढोस्, र “पञ्चकन्या घ्याङस्वारा चिया” नेपालको नयाँ पहिचान बनोस्—यही शुभकामना।
26.12¡ÆC