दोरम्बामा नेशनल लघुवित्तको केन्द्र प्रमुख गोष्ठी र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मंसिर २६, २०८२ मा प्रकाशित | 372 views


काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको दोरम्बा शाखा, रामेछापको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम एक विशेष समारोहबीच शुक्रबार सम्पन्न भएको छ ।

नेशनल लघुवित्त वित्तीय संस्थाको समूह नं. ४ को सदस्य तथा दोरम्बा शैलुङ गाउँपालिकाको निर्वाचित वडासदस्य रिता महतको सभापतित्व तथा दोरम्बा शैलुङ गाउँपालिकाको उपाध्यक्ष खमला थापा मगरको प्रमुख आतिथ्यतामा विभिन्न गतिविधिहरु सहित केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, अनुगमन कार्यालय बनेपाका अनुगमन अधिकृत रामचन्द्र लोहनीले वित्तीय साक्षरताले आर्थिक अनुशासन, बचत संस्कार र उद्यमशीलताको विकासमा सकारात्मक परिवर्तन ल्याउने स्पष्ट पार्नुभयो।

उहाँले लघुवित्त संस्थाले ग्रामीण भेगका महिलाहरूलाई समूहमा आबद्ध गराई आत्मनिर्भर बनाउने अभियानलाई निरन्तर अघि बढाइरहेको उल्लेख गर्दै भन्नुभयो “ लघुवित्त सँस्थाले गाउँ–गाउँमा पुगेर वित्तीय सीप, योजना बनाउने क्षमता, जोखिम व्यवस्थापन र सही ढङ्गले ऋण उपयोग गर्ने संस्कार विकासमा जोड दिइरहेका छौँ” ।

अनुगमन अधिकृत लोहनीले संस्था मार्फत संचालित कार्यक्रमहरू प्रभावकारी बनाउन सदस्यहरू सक्रिय, जिम्मेवार र अनुशासित भएर सहभागिता जनाउनुपर्ने, तथा स्थानीय तह र समुदायबाट निरन्तर सहयोग आवश्यक रहेको पनि बताउनुभयो।

कार्यक्रममा दोरम्बा शैलुङ गाउँपालिकाको उपाध्यक्ष खमला थापा मगरले लघुवित्तलगायतका वित्तीय संस्था तथा सामाजिक संघ–संस्थाहरूको पहलका कारण समुदायमा देखा परिरहेको सकारात्मक परिवर्तन अत्यन्त सराहनीय रहेको बताउनुभयो।

उहाँले गाउँपालिकाले महिला सशक्तिकरण, सीप विकास, आय–आर्जन र आर्थिक सबलीकरणका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै पालिकाले सुरु गरेका कार्यक्रमहरूलाई बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यले अझ प्रभावकारी बनाउन सहयोग पुगेको भन्दै प्रशंसा गर्नुभयो ।

उपाध्यक्ष थापा मगरको अनुसार लघुवित्तका कार्यक्रम मार्फत महिलाहरूमा बचत संस्कार, आर्थिक अनुशासन, उद्यमशीलता तथा आत्मनिर्भरता बढेको छ, जसले कम समयमा नै उल्लेख्य सुधार देखिएको छ।  गाउँपालिकाले आगामी दिनमा पनि लघुवित्त तथा अन्य साझेदार संस्थासँग सहकार्य गर्दै समुदायमा दिगो आर्थिक विकास ल्याउन तयार रहेको उपाध्यक्ष थापा मगरले स्पष्ट पार्नुभयो।

कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै दोरम्बा शाखाको प्रमुख कल्पना खड्काले केन्द्र प्रमुखहरूमार्फत संस्थाको सेवा प्रवाह आगामी दिनमा अझै थप प्रभावकारी बनाउने र सदस्यहरूमा वित्तीय अनुशासन, बचत, ऋण व्यवस्थापन लगायतका विषयमा जानकारी विस्तार गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो । यस्तै, राम्रो काम गरेको केन्द्र र सदस्यलाई सम्मान गरेर थप उत्साह दिन कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख कल्पना खड्काले जानकारी दिनुभयो ।

कार्यक्रममा उत्कृष्ट समूह सम्मान अन्तरगत रत्नमाला महिला समूह, समूह नं ४८ को सिता थापामगर, थानसिंह महिला समूह, समूह नं ६० को भक्तिमाया मगर, अगुवा महिला समूह, समूह नं २१ को शोभा थापामगरलाई कार्यक्रमको प्रमुख अतिथी, सभाध्यक्ष लगायतका अतिथीहरुले सम्मान गर्नुभएको थियो ।

यस्तै, उत्कृष्ट सदस्य सम्मान अन्तरगत बचततर्फ सिता थापामगर, मसली श्रेष्ठ, लासाङ तामाङ र उत्कष्ट व्यवसायीतर्फ जिरा मोक्तानलाई प्रदान गरिएको छ । उत्कृष्ट छनोटको आधार निरन्तरको लगनशीलता, अनुशासन र आर्थिक प्रगति लगायत सँस्थाले निधारण गरेको मापदण्डको आधारमा गरिएको शाखा प्रमुख कल्पना खड्काले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न समूहका अध्यक्षहरूले मन्तव्य राख्दै लघुवित्त संस्थामा आबद्ध भएपछि आफूहरूको जीवनमा आएको उल्लेखनीय परिवर्तनको अनुभव सुनाएका थिए । उहाँहरूका अनुसार लघुबित्तमा आवद्ध भएसगैँ नियमित बचत, सहज ऋण पहुँच र वित्तीय अनुशासनले गर्दा आफूहरुको आर्थिक अवस्था मजबुत हुनुका साथै पारिवारिक निर्णय प्रक्रियामा महिलाहरूको अनिवार्य सहभागिता लगायतमा परिवर्तन हुदैँ आइरहेको छ । आफ्नै आम्दानीबाट व्यवसाय सञ्चालन गर्न थालेपछि आत्मविश्वास, सामाजिक पहिचान र सम्मानमा समेत वृद्धि भएको अनुभव सुनाएका थिए ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्षका रुपमा रहनुभएका समूह नं. ४ का सदस्य तथा दोरम्बा शैलुङ गाउँपालिकाको निर्वाचित वडासदस्य रिता महतले नेशनल लघुवित्त वित्तीय संस्थामा आबद्ध भएका महिलाहरु उद्यमी हुदै आर्थिकस्तर परिवर्तन गर्दै आत्मनिर्भर हुन सक्षम भएको बताउनुभयो । पछिल्ला केही समयमा लघुबित्त सँस्थाहरु प्रति असहयोग हुने गरेको सुन्नमा आएकाले लघुबित्त सँस्था महिला दिदीबहिनीहरुको आफ्नै सँस्था भएकाले आफूहरुको तर्फबाट सधैँ सकारात्मक सहयोग हुने उहाँले विश्वास दिलाउनुभयो । अरुको उक्सावटमा लागेर सँस्थाबाट लिएको ऋण समयमा नतिर्ने, नियमितत रुपमा गर्दै आएको बचत नराख्ने जस्ता असहयोगका गतिविधिहरु कोहीकसैले गर्न नहुने भन्दै आफूहरु आबद्ध समूहमा त्यस्तो हुन नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा दोरम्बा शैलुङ गाउँपालिका वडा नं २ का अध्यक्ष मेचमान योञ्जन, स्थानीय प्रहरी चौकीका इञ्चार्ज रामबाबु कुंवर, सञ्जिवनी माविका शिक्षक सबिना योञ्जन, साहस नेपालमा कार्यरत सहजकर्ता ओमप्रकाश मोक्तान तथा विभिन्न समूह अध्यक्षहरू सहित विभिन्न अतिथिहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web