सडक सौन्दर्यकरण र हरियाली प्रवर्द्धनको लागि बेलकोटगढी–५ मा बृक्षारोपण

भदौ ६, २०८२ मा प्रकाशित | 438 views

नुवाकोट । बेलकोटगढी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, आर्थिक विकास शाखा (कृषि)को आयोजनामा वडा नं ५ कोल्पुटार स्थित मुख्य सडक खण्डको दायाँबायाँ सौन्दर्यकरण गर्ने उद्देश्यसहित बृक्षारोपण गरिएको छ ।

‘गल्छी–देवीघाट सडक खण्ड’को कोल्पुटार स्थित मुख्य सडकको दायाँबायाँ गुलमोहर र ज्याकाराण्डा जातको फूल रोपिएको हो । बृक्षारोपणमा नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिबप्रसाद दाहाल, प्रमुख प्रशासकीय अधिकृत दिपक थिङ, वडा नं. ५ का अध्यक्ष मदन भुजेल, कार्यपालिका सदस्य गमला लामा, स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख सत्येन्द्र साह, कृषि शाखा लगायत नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरु, जनप्रतिनिधि, स्थानीयबासी लगायतको सहभागितामा १२० बोट फूलको बिरुवा रोपिएको हो ।

बृक्षारोपणमा सहभागी नगरप्रमुख जगतबहादुर गुरुङले हरियाली प्रवर्द्धन र सौन्दर्यकरणलाई नगरले पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै वातावरण संरक्षणमा समेत योगदान पुग्ने विश्वास लिएको बताउनुभयो ।

यस्तै, उपप्रमुख शिवप्रसाद दाहालले बृक्षारोपणले नगरको वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा वृक्षारोपणलाई अभियानका रुपमा अन्य स्थानमा पन निरन्तरता दिइने योजना बनाइएको उहाँले बताउनुभयो ।

बृक्षारोपण पश्चात ती विरुवाको संरक्षणको लागी ट्रि–गार्ड समेत राखिएको हुदाँ रोपिएको विरुवा हुर्कन सहज हुने विश्वास गरिएको छ ।

सडक सुरक्षालाई प्राथमिकतामा राख्दै हरियाली प्रवर्द्धन र वातावरणीय सन्तुलन कायम गर्न वृक्षारोपण गरिएको नगरपालिकाका कृषि शाखाका प्राविधिक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

सडक सौन्दर्यकरण र हरियाली प्रवर्द्धनका लागी यसअघि, वडा नं ७ को रातमाटेमा गत साउन २६ मा बेलकोटगढी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गतको आर्थिक विकास शाखा (कृषि)को आयोजनामा वृक्षारोपण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web