
नुवाकोट । विदुर नगरपालिका–८ मा किसानसँग जनप्रतिनिधिबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा कृषि विकास तथा पशु सेवा सम्बन्धी सेवाहरूको जानकारी दिइयो।
कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, कृषि अधिकृत सबिना बोगटी, पशु विकास अधिकृत भरत पाण्डे लगायतले कृषकहरूलाई लक्षित सेवा, अनुदान तथा प्राविधिक सहयोगका विषयमा जानकारी गराए।
नगरप्रमुख श्रेष्ठले कृषकहरूलाई नगरले सञ्चालन गर्दै आएको अनुदान, तालिम, प्राविधिक सहयोग जस्ता कार्यक्रमको पूर्ण उपयोग गर्न आग्रह गर्नुभयो। उपप्रमुख बोगटीले कृषिमा आत्मनिर्भरता र उत्पादन वृद्धि गर्न यस्तो अन्तरक्रिया कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।
वडा नं ८ का अध्यक्ष कमल श्रेष्ठले वडाले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै किसानका समस्या समाधानमा वडा प्रतिबद्ध रहेको बताए।
अन्तरक्रिया कार्यक्रममा सहभागी कृषकहरूले बादरको आतंक, मलको अभाव, केरा पकेट कार्यक्रम सञ्चालनको आवश्यकता जस्ता विषयमा सुझाव तथा मागहरू राखेका थिए ।
वडा सदस्य श्रीकृष्ण आचार्यको अनुसार वडा नं ८ को कार्यालयले कृषि एंव पशु विकासको क्षेत्रलाई पहिलो प्राथमिकता दिदै किसानको समस्या, गुनासो तथा सुझाब संकलन गर्ने र सोही अनुसार आवश्यक सहयोग उपलब्ध गराउने लक्ष्यको साथ किसानसंग जनप्रतिनिधि अन्तरक्रिया कार्यक्रम राखिएको छ । कृषि क्षेत्रको विस्तार, विकास र संलग्न हुनेको सङ्ख्या बढाई रोजगारको सिर्जना, आम्दानी बृद्धि गर्दै आर्थक रुपमा वडालाई समृद्धि बनाउनको लागी यससंग सम्बन्धित कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर चलाइरहने कार्यतालिका बनाइएको उहाँको भनाई छ ।
15.51¡ÆC