
काठमाडौ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको महासचिव पदमा रहेकी बन्दना दनुवारले पदबाट राजीनामा दिएकी छिन्। उनले संघको ८ औं अधिवेशन (२०७९ भदौ २८–२९) मा निर्विरोध महासचिवमा चयन भए पनि पछिल्लो समय संघभित्र उत्पन्न मतभेद, अन्यौलता र आफ्ना भूमिकामाथि देखिएको अविश्वासका कारण राजीनामा दिने निर्णय गरेको जनाएकी छन्।
पत्रमार्फत राजीनामा सार्वजनिक गर्दै उनले भनिन्, “महासचिवको भूमिकालाई नै ओझेलमा पार्ने व्यवहार र मेरो क्षमतामाथि गरिएको अविश्वासले गर्दा म यो निर्णयमा पुगेकी हुँ।”
दनुवारले सामुदायिक रेडियो आन्दोलनमा करिब १५ वर्षदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्। २०६६ सालदेखि रेडियो उदयपुरसँगको यात्राबाट सुरु भएको उनको संलग्नता पछि २०७० सालदेखि अकोराबको केन्द्रिय सदस्य हुँदै सचिब, उपाध्यक्ष लगायतका पदमा रहेर योगदान दिएकी थिइन्।
“बिगत १२ वर्षको दौरानमा पाएको विश्वास, सहकार्य र मित्रताको लागि गहिरो आभार व्यक्त गर्दछु,” राजीनामा पत्रमा उनले उल्लेख गरेकी छन्। साथै, सामुदायिक रेडियो आन्दोलनमा निरन्तर ऐक्यबद्धता जनाउने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन् ।
बन्दना दनुवारले अकोराब नेपालको महासचिव पदबाट दिएको राजीनामा स्वीकृत भए नभएको अकोराबले आधिकारिक रुपमा जनाएको छैन । तर, अकोराबको आधिकारिक वेभसाइडको पदाधिकारी विवरणमा महासचिव पदबाट बन्दना दनुवारको नाम हटाइएको छ भने उनको सट्टामा कार्यबाहक महासचिव भक्तबहादुर स्याङताङ रहेको उल्लेख छ ।
उनले अकोराबमा आबद्ध रहेका साझेदारी रेडियोहरुलाई गरेको इमेल यस्तो छ :
प्रिय सदस्य रेडियो स्टेशनहरु,
नमस्कार ।
सामुदायिक रेडियो उदयपुर २०६६ सालमा स्थापना भए सँगै मेरो सामुदायिक रेडियोसँगको यात्रा शुरु भएको हो, २०७० सालदेखि सामुदायीक रेडियो प्रसारक संघ अकोराब नेपालको केन्द्रिय सदस्य हुँदै त्यस यता , सचिब, उपाध्यक्ष र महासचिबको कार्यभार सम्हाल्ने मौका पाँए । मैले मेरो जीवनको उर्जाशिल समय १५ वर्ष देखी सामुदायीक रेडियोको आन्दोलनमा क्रियाशिल भएर बिताएको छु । र क्रियाशिल रहने छु ।
गत बर्ष भदौ २८ र २९ मा सम्पन्न संघको ८ औ अधिबेशनबाट महासचिब पदमा निर्बिरोध निर्बाचित भएयता पदिय जिम्मेवारीको आधारमा आफनो काम,कर्तब्य र अधिकार कार्यन्वयनको क्रममा संघभित्र मतभेद, अन्यौलता र अप्ठ्यारो परिस्थितीहरु सिर्जनाहुन पुग्यो । महासचिबको भुमिकालाइ नै ओझेलमा पार्ने ब्यबहारहरु र मेरो क्षमता माथि गरिएको अविश्वासका कारण मैले महासचिब पदबाट बिदा लिने कठिन निर्णय गरेको छु । बिगत १२ बर्षभरिमा तपाइहरुसंगको बिश्वास, सहकार्य र मित्रताको लागी म गहिरो कृतज्ञता ब्यक्त गर्दछु ।अकोराबमा मेरो यात्रालाइ अर्थपुर्ण बनाउन सहयोग गर्नुभएकोमा यँहाहरु सबैलाइ धेरै धन्यबाद ।
निरन्तर ऐक्यबद्धताका साथ
बन्दना दनुवार
आउटगोइङ महासचिब
15.47¡ÆC