नुवाकोटको खरानीटार सहित ४१ स्थानमा सशस्त्रको मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना

साउन २२, २०८२ मा प्रकाशित | 590 views


काठमाडौँ । सशस्त्र प्रहरीले काठमाडौँ उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ ।

काठमाडौँ उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी र ललितपुरको लेले तथा भक्तपुरको सानोठिमीमा मनसुन प्रतिकार्य बेस स्थापना गरिएको हो । विपद्मा नागरिकको उद्धार तथा सहयोगका लागि उक्त बेस स्थापना गरी काम गर्दै आएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले जानकारी दिनुभयो ।

कोशी प्रदेशअन्तर्गत मोरङको बखरी र ओखलढुङ्गाको हर्कपुर, मधेस प्रदेशस्थित सप्तरीको भारदह र बर्साइन, सिरहाको मिल, धनुषाको दुवरकोट, महोत्तरीको रघुनाथपुर र बनौटा, सर्लाहीको धरहरा, रौतहटको फतुवा, बाराको तेलकुवा र कलैया, पर्साको पोखरिया, बाग्मती प्रदेशस्थित मकवानपुरको सुनौला, काभ्रेको खालथोक र मङ्गलटार, नुवाकोटको खरानीटार, चितवनको भालढुङ्गा, दोलखाको लिङ्कन बजार र सिङ्गटी तथा रसुवाको तातोपानीमा बेस स्थापना गरिएको छ ।

त्यस्तै, गण्डकी प्रदेशअन्तर्गत पर्वतको खहरे, गोरखाको आरुघाट, पूर्वी नवलपरासीको चोरमारा, कास्कीको छाचोक, लुम्बिनी प्रदेशस्थित बर्दियाको राजापुर, रुपन्देहीको बुटवल, बाँकेको कुण्डा र कचनापुर, गुल्मीको तुराङ्ग र पाल्पाको दोभानमा, कर्णाली प्रदेशस्थित जुम्लाको बड्की, मुगुको डिमुरखारा र जाजरकोटको दल्ली र सुदूपश्चिम प्रदेशस्थित कैलालीको खानी डाँडा र डोटीको बुडरमा मनसुन प्रतिकार्य सुरक्षा बेस स्थापना गरिएको छ ।

विपद्मा परेका आम नागरिकहरुको उद्धारमा सहज होस् भन्ने अभिप्रायका साथ सशस्त्र प्रहरी बल नेपालले वर्षाको कारण जोखिमयुक्त क्षेत्रहरुको पहिचान गरी उक्त बेसहरुमा विपद् उद्वार सामग्रीसहितको सुरक्षा फौज तयारी हालतमा राखिएको जनाइएको छ ।

यसअघि सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका रहने भएकाले देशभरि एक लाख ६८ हजार ९५६ जना विपद् सूचक तयार गरेको छ । देशभर ९९० जनालाई विपद् स्वयंसेवक अनुशिक्षण तालिम दिइएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web