
नुवाकोट । विनासकारी ‘गोरखा भूकम्प’ले क्षति पुगेको नुवाकोटको साततले दरबार (दुर्गरत्न) पुनर्निर्माणका लागी भत्काउन थालिएको छ ।
चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको साततले दरबारको पुर्ननिर्माण अघिको पूर्व तयारीको प्राविधिक कार्य सम्पन्न भएसगैँ क्षतिग्रस्त संरचनाको भाग भत्काउन थालिएको पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय नुवाकोटका प्रमुख सुनिल पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार दरबारमा लगाइएको स्क्राफ फोल्डिङ (मचान) मार्फत छाना (झिँगटी) निकाल्ने कार्य सकिएर माथिल्लो तला हटाउन थालिएको छ ।
“पुरातात्विक सम्पदाको संरचना भएकाले त्यसको संवेदनशीलतालाई ख्याल गर्दै नेपाली प्रतिनिधिको उपस्थितीमा सजगताका साथ दरबारको संरचना हटाउने कार्य भइरहेको छ ।” हेरचाह कार्यालयका प्रमुख पाण्डेले भन्नुभयो “भत्काउने क्रममा दरबारमा प्रयोग भएका झिँगटी, झ्याल, बुर्जा, बार्दली लगायतका सामाग्रिको संरक्षणका लागी सोही अनुसार प्रबन्ध मिलाइएको छ ।”
विशाल नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले नुवाकोट राज्यमाथी विसं.१८०१ मा बिजयी हासिल गर्नुभएको थियो । त्यसपश्चात उहाँले निर्माण गर्न लगाउनुभएको उक्त साततले दरबार दश वर्षअघि विसं.२०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएसगैँ आवश्यकताको आधारमा पुर्ननिर्माण थालिएको हो ।
साततले दरबार पुर्ननिर्माणका क्रममा पुर्ननिर्माण, प्रबलीकरण के गर्ने भन्ने सम्बन्धमा दरबार भत्काउँदै गएपछि मात्र एकीन हुने चिनियाँ पक्षले जनाएको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।
अहिलेको प्राविधिक अध्ययन अनुसार दरबारको जग सतहदेखि तेस्रो तलासम्मको संरचना सुरक्षित रहेको पाइएको छ । यद्यपि, दरबार भत्काउँदै जाने क्रममा गरिने प्राविधिक अध्ययन पश्चात् दरबार पूरै भत्काउने अथवा जोखिम भएका तलाहरू हटाई सोही ठाँउबाट पुर्ननिर्माण गरिने भन्ने सम्बन्धमा आगामी दिनमा निर्णय लिने चिनियाँ पक्षले जानकारी गराएको नगरप्रमुख श्रेष्ठको भनाई छ ।
भूकम्पपछिको पुनर्निर्माणको क्रममा चिनियाँ सहयोग अन्तरगत चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज मार्फत नुवाकोटको साततले दरबार, तुलजा भवानीको मन्दिर सहित आठवटा संरचनाको पुनर्निर्माणको काम हुने उल्लेख गरिएको छ ।
पुर्ननिर्माण अन्तरगत भूकम्पले पूर्ण क्षति बनाएको लिच्छविकालीन तुलजा भवानी (तलेजु)को मन्दिर भने पूरै भत्काइएको छ । हाल उक्त स्थानमा भेट्टिएका पुरातात्विक सम्पदासंग सम्बन्धित विषयमा अध्ययन भइरहेको दरबार हेरचाह कार्यालयका प्रमुख पाण्डेले जानकारी दिनुभयो । उक्त अध्ययन पश्चात तलेजु मन्दिरको नयाँ निर्माण पहिला जस्तो थियो सोही अनुसार हुनेछ ।
साततले दरबार र तुलजा भवानीको मन्दिरको पुर्ननिर्माण विसं २०८३ असोज भित्र सम्पन्न गरेर हस्तान्तरण गर्ने निर्माणको जिम्मा पाएको चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले प्रतिबद्धता जनाएको छ । बाँकी रहने अन्य ६ वटा धार्मिक, साँस्कृतिक एवं पुरातात्विक संरचनाको निर्माण त्यसपछि सुरु हुने समझदारी भएको छ । ती सबै पूर्ण क्षति भएकाले नयाँ निर्माण गर्न लागिएको छ ।
भूकम्पले क्षति पुगेको साततले दरबार, तुलजा भवानीको मन्दिर सहित गारदघर, रङ्गमहल, लामपाटी, सितलपाटी, नारायण र विष्णु मन्दिरको पुर्ननिर्माण चीन सरकारको सहयोगमा भइरहेको हो ।
-रामहरि न्यौपाने, रासस ।
15.18¡ÆC