नुवाकोटका २६ जनालाई सिलाई कटाईको प्रारम्भिक तालिम प्रदान

असार १३, २०८२ मा प्रकाशित | 300 views


विदुर । नुवाकोटको विभिन्न स्थानमा बसोबास गर्दै आएका २६ जना महिलाहरुले सिलाई कटाईको तालिम पूरा गरेका छन् । ३९० घण्टा सिकाईको प्रशिक्षण सम्पन्न गरेसगैँ उनीहरुलाई विदुरका नगरप्रमुख राजन श्रेष्ठले प्रमाणपत्र प्रदान गर्नुभयो ।

शुक्रबार आयोजित समापन कार्यक्रममा नगरप्रमुख श्रेष्ठ सहित उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले प्रमाण पत्र प्रदान गर्नुभएको हो ।

नगरप्रमुख श्रेष्ठले विदुर नगरपालिकाले उमेर समूह अनुसार विभिन्न सिपमूलक तालिम प्रदान गर्दै आइरहेकाले सोही अनुसार महिला दिदीबाहिनीहरुको लागी सिलाई कटाईको तालिम प्रदान गरिएको जानकारी दिनुभयो । सिप सिकेकाहरुले पेश सुरु गरेर यसलाई व्यवसायिक बनाएमा थप तालिमको समेत प्रबन्ध गर्नको लागी सहयोग हुने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

विदुर स्थित इलम प्रशिक्षण केन्द्रमा सम्पन्न भएको तालिममा सहभागीहरूलाई सीप विकास अर्थात सिलाई कटाईको विभिन्न पक्षमा व्यावहारिक तालिम दिइएको प्रशिक्षक सुभद्रा सापकोटाले जानकारी दिनुभयो । तालिम लिएका महिलाहरूलाई स्वरोजगारमा जोड्न र आत्मनिर्भर बनाउन सिलाई कटाईको सिपले सहयोग पुग्ने विश्वास लिइएको छ ।

तालिममा सहभागीहरूले सिप प्राप्त भएकाले अब आफैले व्यवसाय थाल्ने योजना बनाएको बताएका छन् ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगत रहेको प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्, हेटौंडासंगको सहकार्यमा विदुर नगरपालिकाको सिलाई कटाइ तालिम सञ्चालनमा ल्याएको थियो ।

कार्यक्रममा विदुर नगरपालिकाको उद्योग शाखाको अधिकृत सुदर्शन सेढाई, नुवाकोट उद्योग बाणिज्य संघका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web