विपद् प्रतिकार्यका लागी नुवाकोटमा ‘अभ्यास मनसुन–५’ प्रारम्भ

जेष्ठ २३, २०८२ मा प्रकाशित | 326 views


विदुर । नुवाकोट जिल्लाको सुरक्षार्थ तैनाथ रहेको नेपाली सेनाको श्री शेर गणले मनसुनको समयमा हुनसक्ने विपद्को घटनालाई जतिसक्दो चाडो खोज तथा उद्धारलाई मध्येनजर गर्दै नुवाकोटमा ‘अभ्यास मनसुन–५’ सञ्चालनमा आएको छ ।

‘अभ्यास मनसुन–५’ ले विपद् प्रतिकार्य अन्तरगत पूर्व तयारी, घटना भएमा खोज तथा उद्धारसम्मको योजनाहरु समावेश गर्दै जिल्ला स्थित विपद्को क्षेत्रमा कार्यरत सरोकारवालाहरुबीचको समन्वयमा जोड दिएको छ ।

यस वर्षको बर्खायाम सुरु भइसकेकाले बाढी, डुबान एवं पहिरो लगायतका प्राकृतिक विपद्‍बाट हुन सक्ने क्षतिलाई मध्यनजर गरी प्रभावितहरुलाई तत्काल खोज, उद्धार तथा राहत कार्य प्रभावकारी रुपमा सम्पन्‍न गर्ने उद्देश्यका साथ विपद् प्रतिकार्य सम्बन्धी समूहिक अभ्यास ‘अभ्यास मनसुन–५’ को प्रारम्भ गरिएको श्री शेर गणका गणपति प्रमुख सेनानी अशोक कुमार मल्लले जानकारी दिनुभयो ।

‘अभ्यास मनसुन–५’ मा विगतमा भएका विपद् प्रतिकार्यका अभ्यास सहित थप सुधार एंव सरोकारवाला निकायहरुसंगको सहकार्यलाई थप प्राथमिकता दिइएको छ ।

श्रीशेर गणमा बिहीबार आयोजित अभ्यासको शुभारम्भ कार्यक्रम बैठकमा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे सहित जिल्ला स्थित विपद्को क्षेत्रमा सक्रिय रहेका सुरक्षा निकाय एंव सामाजिक सँस्थाहरुलाई ‘अभ्यास मनसुन–५’ को सम्बन्धमा जानकारी गराइएको छ ।

उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी शशीधर घिमेरेले विपद् प्रतिकार्यका सम्बन्धमा विगतदेखि नै आ आफ्नो क्षेत्रमा सक्रिय रहदै आएका सरोकारवाला निकायबीच सहकार्य गरेर गरिने कार्यक्रमले सफलता प्राप्त गर्न सहज हुने बताउनुभयो । विपद्को समयमा सत्य सूचना प्राप्त गर्न, खोज तथा उद्धारको लागी परिचालन, पीडितलाई राहत तथा बन्दोबस्ती लगायतका सामाग्रि उपलब्ध गराउन सहकार्य र समन्वय सबैभन्दा ठूलो महत्व राख्ने भएकाले ‘अभ्यास मनसुन–५’ कार्यक्रम निकै प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख एव प्रतिनिधि र जिल्ला स्थित सामाजिक सँस्थाका प्रमुख एंव प्रतिनिधिहरुले मनसुन सहित विपद्को सम्बन्धमा पूर्व तयारी, खोज उद्धार तथा राहत वितरणसम्मका योजनामा आ–आफ्नो विपद् प्रतिकार्यको तयारी तथा उपलब्ध स्रोत साधनहरुको बारेमा जानकारी प्रस्तुत गरिएको थियो ।

‘अभ्यास मनसुन–५’ प्रारम्भका सम्बन्धमा जानकारी एंव प्रस्तुतीकरणमा प्रमुख जिल्ला अधिकारी घिमिरे सहित जिल्ला स्थित सुरक्षा निकायहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी बल १९ नं गुल्म, राष्ट्रिय अनुसन्धान कार्यालय, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोट, नुवाकोट उद्योग वाणिज्य संघ लगायतका विपद्को क्षेत्रमा क्रियाशिल निकायहरुका प्रमुख एंव प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web