तारकेश्वरमा अध्यक्ष अधिकारीको चेतावनी पश्चात विद्यालयले गरे नतिजा प्रकाशन

बैशाख ५, २०८२ मा प्रकाशित | 504 views


नुवाकोट । तारकेश्वर गाउँपालिकाका सबै विद्यालयले शैक्षिक सत्र–२०८१ विद्यालय तहको अन्तिम परीक्षाको नतिजा प्रकाशन गरेका छन् ।

विगत दुई सातादेखि काठमाडौमा जारी रहेको शिक्षकहरुको आन्दोलनको बाहना बनाउदै विद्यालयहरुले नतिजा प्रकाशनमा ढिलो गरेपछि गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले यही मङ्गलबार २४ घन्टाभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिनुभएको थियो । उहाँले दिनुभएको चेतावनी पश्चात शिक्षक अन्दोलनको बाहनामा रोकिएका विद्यालयको अन्तिम परीक्षाको नतिजा शुक्रबार सार्वजनिक भएको हो ।

गाउँ शिक्षा समितिको संयोजक समेत रहनुभएका अध्यक्ष अधिकारीले नयाँ शैक्षिक सत्र-२०८२ को भर्ना अभियान यही बैशाख २ गतेदेखि सुरु भइसक्नुपर्ने समयमा पुरानो शैक्षिक सत्र-२०८१ को नतिजा प्रकाशित नहुँदा वर्षभरिको शैक्षिक कार्यतालिकामै गम्भीर असर पर्न सक्ने खतरा देखिएको भन्दै आन्दोलन जारी रहँदा पनि ‘न्यूनतम शैक्षिक क्रियाकलाप’ रोकिन नहुनेतर्फ सचेत रहन शिक्षकहरूको ध्यानाकर्षण गराउनुभएको हो ।

उक्त ध्यानाकर्षण अन्तरगत विद्यालयको नतिजा प्रकाशन गर्नको लागी उहाँले २४ घण्टे समयसीमा दिनुभएको थियो । शिक्षकहरुको मागको सम्बन्धमा जायज माग पूरा गर्नको लागी संघीय सरकार गम्भीर हुनुपर्ने भनेर शिक्षक आन्दोलनमा सकारात्मक साथ दिनुभएका उहाँले विद्यार्थीको परीक्षा नतिजा जस्तो संवेदनशील विषयमा भने खेलबाड नगर्नको लागी विद्यालयहरुलाई चेतावनी दिनुभए पश्चात तारकेश्वरमा रहेका ३४ विद्यालयहरुले शुक्रबार नतिजा सार्वजनिक गरेको हो ।

शुक्रबार नतिजा प्रकाशन भएको जानकारी सम्बन्धित विद्यालयले गाँउपालिकालाई गराएका थिए । त्यसको कार्यान्वयनको अवबस्था बुझ्न गाँउपालिका मार्फत खटिएको गाँउ प्रहरीले सबै विद्यालयमा पुगेर अनुगमन समेत गरेको थियो । 

विद्यार्थीको भविष्य अन्योल हुनसक्ने भन्दै चिन्तित रहनुभएका अध्यक्ष अधिकारीले नतिजा प्रकाशन जस्तो गम्भीर एंव संवेदनशील विषयमा अटेर नगर्न सचेत गराउदै मंगलबार उहाँले २४ घण्टाभित्र नतिजा प्रकाशन नगरे स्थानीय सरकार गम्भीर रूपमा प्रस्तुत हुने चेतावनी समेत दिनुभएको थियो ।

त्यसलगत्तै, अध्यक्षसँगको भर्चुअल बैठकमा प्रधानाध्यापकहरूले तयारीका लागि थप २४ घन्टाको समय माग्दै शुक्रबार बिहान १० बजे नतिजा प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोहीअनुरूप, तारकेश्वर गाँउपालिकामा रहेका ३४ वटै विद्यालयले नतिजा प्रकाशन गरिसकेको जानकारीसँगै अध्यक्ष अधिकारीले सबै विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई धन्यवाद दिनुभयो ।

उहाँले शिक्षकहरुले राखेको जाजय मागको आन्दोलनमा पालिका अध्यक्षको रुपमा आफ्नो समर्थन रहेको भन्दै विद्यार्थीको भविष्यलाई उज्जवल बनाउनको लागी विद्यालयमा गर्नुपर्ने आन्तरिक थप गतिविधिलाई पनि अघि बढाउन आग्रह गर्नुभएको छ ।

नतिजा प्रकाशन पश्चात विद्यार्थी भर्ना लगायतका न्यूनतम शैक्षिक क्रियाकलाप रोकिन नहुनेतर्फ सचेत रहन अध्यक्ष अधिकारीले पुनः ध्यानाकर्षण गराउनुभएको हो ।

शिक्षकहरूको जायज मागप्रति समर्थन जनाउँदै अध्यक्ष अधिकारीले छिटोभन्दा छिटो शिक्षकहरूका माग सम्बोधन गरी नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने वातावरण तयार गर्न सङ्घीय सरकार समक्ष आग्रह गर्नुभएको छ ।

गाँउपालिका मार्फत खटिएको गाँउ प्रहरीले सबै विद्यालयमा पुगेर गरेको अनुगमनको थप तस्बिरहरु :

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web