
धुञ्चे । आयुर्वेद तथा बैकल्पिक चिकित्सालय रसुवाले स्वास्थ्य सेवा दिवसको अवसरमा पूर्ण स्तनपान प्रबद्धर्नको लागी आयुर्वेद सम्बन्धि अभिमुखिकरण सम्पन्न गरेको छ ।
समुदायका नागरिकहरुसंग प्रत्यक्ष जोडिने तथा सन्देश प्रवाहको लागी सबैभन्दा प्रभावकारी माध्यम बन्दै आएको आमा समूह र स्वास्थ्यकर्मीहरुलाई लक्षित गर्दै चिकित्सालयले पूर्ण स्तनपान प्रबद्धर्नको लागी आयुर्वेद सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा गोसाईकुण्ड गाँउपालिकाको अध्यक्ष कैसाङ नुर्पु तामाङले शिशु र आमा दुवैको स्वास्थ्य सुधार गर्न, स्वस्थ्य समाजको निर्माण गर्न पूर्ण स्तनपानको महत्वलाई स्वास्थ्यकर्मी मार्फत समुदायसम्म फैलाएर सुत्केरी महिलाहरुको लागी सचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । यसका लागी गाँउपािलकाको तर्फबाट आवश्यक कदम चाल्न र भूमिका निर्वाह गर्न अध्यक्ष तामाङले प्रतिबद्धता जनाउनुभयो । शिशु जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान गारई यस अभियानलाई सफल बनाउन जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी सबैको जिम्मेवारी रहेको उहाँको भनाई छ । सुत्केरीलाई ६ महिनासम्म पूर्ण स्तनपान गराई बच्चालाई स्वास्थ्य बनाउनको लागी कुनै कसुर बाँकी नराख्न अध्यक्ष तामाङले आब्हान गर्नुभयो ।

कार्यक्रममा जिल्ला अस्पताल रसुवाका प्रमुख डा.त्रिभुवनचन्द्र झा सहित डा.अच्युत पौडेल, जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख झमप्रसाद आचार्यलेपूर्ण स्तनपान प्रबद्धर्न र यसलाई सफल बनाउनको लागी अपिल गर्नुभयो । जनस्वास्थ्य कार्यालयका प्रमुख आचार्यले पूर्ण स्तनपानले महिलाहरुमा कुनै असर नपर्ने उल्टै महिलाहरुमा हुने स्तनक्यान्सर र पाठेघरको क्यान्सरको जोखिम कम गराउने भएकाले यसको प्रशस्त फाइदा रहेको स्पष्ट पार्नुभयो ।

यस्तै, वडा नं. ६ का वडाध्यक्ष दावा सिदार वाइवा, स्वास्थ्य चौकी इञ्चार्ज इनफ स्याङताङ, नागरिक समाजका अध्यक्ष तथा रेडक्रस रसुवाका सभापति बाबुलाल तामाङ लगायतले पूर्ण स्तनपान कार्यक्रमलाई सफल बनाउनको लागी आफ्नो तर्फबाट आवश्यक सहयोग सहित ऐक्यबद्धता जनानुभयो ।
आयोजक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय रसुवाका प्रमुख रोजिना ताम्राकारले ‘शिशु जन्मेको एक घण्टाभित्र पहिलो स्तनपान गराउने, बच्चा जन्मेदेखि ६ महिनासम्म नियमित रुपमा आमाको दूध मात्र चुसाउने, बच्चा ६ महिना पूरा भइसकेपछि आमाको दूधसंगसँगै थप खाना उपलब्ध गराउने र स्तनपान गराउँदा एक पटकमा एउटा स्तन मात्र चुसाउनुको साथै कम्तीमा पनि एकपटकमा १५ मिनेटसम्म स्तनपान गराउन आवश्यक रहेको बताउनुभयो ।

उहाँको अनुसार पहिलो पटक स्तनपान गराउँदा निस्किने बाक्लो र पहेंलो रङको पदार्थ (बिगौती अथवा कलोष्ट्रोमयुक्त दूध) मा रोग प्रतिरोधात्मक तत्व धेरै पाइने भएकाले केही आमाहरुले यसलाई फाल्ने गरेकाले त्यस्तो गल्ती नगरी बेगौती दूधले नवशिशु मृत्युदर घटाउन मद्दत पुग्ने भएकाले अनिवार्य रुपमा खुवाउनु निकै हितकर मानिने गरिएको छ ।

आयुर्वेद तथा बैकल्पिक चिकित्सालयले आयोजना गरेको “पूर्ण स्तनपान प्रबद्र्धनको लागी आयुर्वेद सम्बन्धि अभिमुखिकरण”मा सहभागी एकसय भन्दा धेरै सरोकारवालाहरुले ‘पूर्ण स्तनपानलाई सफल बनाउन’को आ–आफ्नो तर्फबाट सहयोगको प्रतिबद्धता जनाएका छन् ।

यो पनि थाहा पाइराख्नुहोस् :
स्तनपानका फाइदा :
स्तनपान अपरिहार्य कुरा हो, जसले आमा र बच्चा दुवैको लागि महत्वपूर्ण भूमिका खेलेको छ। स्तनपानका फाइदा निम्न प्रकारका छन्:
१. स्तनपानले बच्चालाई स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमताको विकास गराउँछ।
२. बच्चालाई कुपोषण हुनबाट जोगाउँछ।
३. बच्चाको शारीरिक, मानसिक तथा भौतिक विकास गराउँछ।
४. बच्चालाई जन्डिस (कमलपित्त), मधुमेह, झाडापखाला, क्यान्सर, निमोनिया हुनबाट जोगाउँछ।
५. आमालाई बच्चा जन्मिँदै गर्दा अथवा बच्चा जन्मेको केही समयपछि हुने अत्यधिक रक्तश्रावबाट जोगाउँछ (जुन हर्मोनको सहायताले पाठेघरको मुख खुम्च्याउन मद्धत गर्छ)।
६. आमा र बच्चा दुवैलाई आत्मीय सम्बन्ध कायम राख्नका साथै सुरक्षित महसुस गराउँछ।
७. आमाको स्तन गानिनबाट बचाउँछ।
८. आमाको मानसिक तनाव कम हुन सहयोग गर्छ।
९. पाठेघरको क्यान्सर हुनबाट जोगाउँछ।
१०. आमाको दूध जहिले, जतिखेर पनि सफा, तयार र सही तापक्रममा रहेको हुन्छ।
११. स्तनपान गराउन पैसा खर्च हुँदैन।
१२. पूर्ण स्तनपानको नियम पालना गर्नसके चाँडो गर्भवती हुनबाट रोक्छ।
21.56¡ÆC