सङ्घीय अस्पतालका उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

भदौ ५, २०८१ मा प्रकाशित | 189 views


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सङ्घीय सरकार मातहतका १७ वटा अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख मदन उपाध्याय र आविष्कार केन्द्रका तर्फबाट अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले राज्यमा उपलब्ध सीमित स्रोत साधनकाबीच स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई चुस्त र व्यवस्थित बनाउनुपर्ने भएकाले केन्द्रसँग सहकार्य गरेको बताउनुभयो । अस्पतालमा प्रयोग हुन नसकेर थन्किएका उपकरणलाई प्रयोगमा ल्याउन सकिएमा नयाँ खरिद गर्न लाग्ने ठूलो खर्च जोगिने उहाँको भनाइ छ ।

कार्यक्रममा केन्द्रका अध्यक्ष पुनले स्वास्थ्य क्षेत्र सुधारका सन्दर्भमा आविष्कार केन्द्रले अर्को महत्त्वपूर्ण जिम्मेवारी पाएको बताउनुभयो ।

अस्पतालमा रहेका उपकरण के–कति प्रयोगमा आउन सक्ने र कुन अवस्थामा छन् भनी यकिन गर्ने तथा बनाउन सकिने र नसकिने पहिचान गर्ने कार्य केन्द्रले गर्नेछ । मर्मत गर्न सकिने भए बनाउने र नसकिने भए त्यहीअनुसारको राय सुझाव आविष्कार केन्द्रले मन्त्रालयलाई दिनेछ ।

अहिले अस्पतालमा थन्किएका उपकरणहरू मर्मत गरेर सञ्चालन गर्न सकेमा करोडौं रुपैयाँका उपकरण खरिद गर्नु नपर्ने मन्त्रालयको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web