
काठमाडौँ । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ थामेको बाढी प्रभावित क्षेत्रमा अवस्था बुझ्न र प्रभावितलाई उद्धार तथा राहतका लागि रक्षामन्त्री मानवीर राईको नेतृत्वमा टोली पुगेको छ । रक्षामन्त्रीसहितको टोली बिहान प्रभावित क्षेत्रमा पुगेको नेपाली सेनाका प्रवक्ता गौरव केसीले जानकारी दिनुभयो ।
टोलीमा रक्षामन्त्री राईसहित सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीलगायत रहेका छन् । थामे खोलामा हिजो दिउँसो लेदोसहितको बाढी आउँदा एक जना बेपत्ता भएका छन् । विस्थापित एकसय ४० जना आफन्तको घर र होटलमा बसेका छन् ।
बाढीले २० वटा घरसहित विद्यालय, होटल र क्लिनिकमा क्षति पुर्याएको छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार उद्धार र राहत वितरणको काम भइरहेको छ । थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान गर्नेक्रम निरन्तर छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने रोकिएको छैन । खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा झण्डै दुई सय मिटर पदमार्ग कटान गरेको छ । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ ।
खुम्बु क्षेत्रबाट हिमताल फुटेर बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । तर अझै पनि यकिन भइनसकेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो ।
19.74¡ÆC