यूएईमा मृत्युदण्ड सजाय सुनाइएका दुई नेपालीले पाए सफाइ

साउन ११, २०८१ मा प्रकाशित | 162 views


काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा मृत्युदण्डको सजाय सुनाइएका दुई जना नेपालीले सफाइ पाएका छन् ।

पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापाले गएको बुधबार यूएईको अदालतबाट सफाइ पाएका हुन् ।

मृतकका परिवारलाई ब्लडमनीबापत् १ करोड १३ लाख बुझाएपछि श्रेष्ठ र थापा गत बुधवार यूएईको जेलबाट रिहा भएका हुन् ।

श्रेष्ठ बिहीबार स्वदेश फर्केका छन् भने थापाको पासपोर्टको म्याद सकिएका कारण यूएईमै छन् । उनी केही दिनभित्र नेपाल आउने उनका मामा तेजबहादुर आलेले जानकारी गराए ।

३ जुन २०१९ मा नवलपरासीका बाबुराम आलेमगरको हत्या आरोपमा श्रेष्ठ र थापालाई यूएईको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।

श्रेष्ठले आफूहरू निर्दाेष हुँदा पनि जेल सजाय भोग्नुपरेको बताएका छन् । ‘बाबुरामको मृत्युको कारण अहिलेसम्म हामीलाई पनि थाहा छैन, सँगै बस्ने भएकाले प्रहरीले हामीलाई पक्राउ गरेको थियो’ उनले अनलाइनखबरसँग भने, ‘निर्दाेष हुँदाहुँदै पनि त्यहाँको अदालतले हामीलाई मृत्युदण्डको सजाय सुनायो ।’

पाँच वर्षदेखि यूएईको सारजाह जेलमा रहेका श्रेष्ठ र थापाको उद्धारका लागि नेपालमा अभियान चलाइएको थियो । देश–विदेशबाट संकलित रकम पीडित परिवारलाई बुझाएपछि श्रेष्ठ र थापा जेलमुक्त भएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web