२ साउन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमाथि तीन दिन छलफल हुने प्रारम्भिक कार्यसूची तय भएको छ ।

प्रमुख विपक्षी दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायत दलले गत बुधबार प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

संसद् सचिवालयले उक्त प्रस्तावमाथि यही साउन ६ देखि ८ गतेसम्म छलफल हुने सूचना पत्रमार्फत सदस्यलाई जानकारी गराइसकेको छ ।

सचिवालयले संविधान, संसद्को नियमावली र आवश्यकताको सिद्धान्तअनुसार त्यस प्रस्तावमाथिको छलफल गरी निर्णयार्थ पेस गर्ने प्रक्रिया अघि बढाइने सहसचिव डा रवि अर्यालले जानकारी दिनुभयो ।

संसद्को नियमावली, २०७३ को नियम १६० अनुसार संसद्को आगामी बैठकमा अविश्वासको प्रस्तावक सदस्यमध्ये पहिलो हस्ताक्षरकर्ता वा निजले अधिकृत गरेको सदस्यले वक्तव्यसहित प्रस्ताव पेस गर्नुहुनेछ ।

प्रधानमन्त्रीविरुद्धको त्यस प्रस्तावका पहिलो हस्ताक्षरकर्ता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हुनुहुन्छ ।

सभामुखले प्रस्तावमाथि छलफल गर्न समयावधि निर्धारण गर्नुहुनेछ । छलफल सकिएपछि प्रधानमन्त्रीले प्रस्ताव र छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुनेछ ।

प्रधानमन्त्रीको जवाफपछि अविश्वास प्रस्ताव फिर्ता नभएका खण्डमा सभामुखले त्यस प्रस्तावलाई निर्णयार्थ बैठकमा प्रस्तुत गर्नुहुने कानुनी प्रावधान रहेको संसद् सचिवालयले जनाएको छ ।

29.12¡ÆC