सबै भाषा, संस्कृतिको सम्वर्धन र विकास गर्न सरकार प्रतिबद्ध छ : मन्त्री तामाङ

असार ९, २०८१ मा प्रकाशित | 385 views


काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा बोलिने सबै भाषा, साहित्य र संस्कृतिको सम्वर्धन र विकास गर्न सरकार सचेत र प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री तामाङले नेपाल प्रज्ञा–प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति र दर्शनको विकास गर्न सरकारकातर्फबाट अधिकतम सहयोग गर्ने बताउनुभयो । प्रतिष्ठानले नेपालको मौखिक इतिहासको खोजी गर्ने, नेपालमा बोलिने मातृभाषाको संरक्षण र सम्वद्र्धनमा जोड दिने, बालसाहित्यको विकास गर्ने, सातै प्रदेशका भौगोलिक, सामाजिक, सांस्कृति, ऐतिहासिक, भाषिक तथा साहित्यिक विषयकको खोज अन्वेषण गर्दै आएको उल्लेख गर्दै उहाँले यसमा सरकारकातर्फबाट भरपुर सहयोग रहने विश्वास दिलाउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान जनताको सङ्घर्र्ष र बलिदानको पृष्ठभूमिमा उभिएको जिकिर गर्दै मन्त्री तामाङले नेपाल प्रज्ञा–प्रतिष्ठान नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्ने तथा मौलिक सिर्जना एवं अनुवादको काम गर्ने सर्वोच्च निकाय भएको उल्लेख गर्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान २०१४ सालमा ‘नेपाली साहित्य–कला एकेडेमी’का नाममा स्थापना भएको हो । त्यसपछि यो नेपाल एकेडेमी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै नेपाल प्रज्ञा–प्रतिष्ठानमा परिणत भएको हो । प्रतिष्ठानले ६७औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web