सिंहदरवारभित्रका क्यान्टिनबाट चार बालबालिकाको उद्धार

जेष्ठ ३१, २०८१ मा प्रकाशित | 186 views


काठमाडौँ । विश्व बालश्रम विरुद्धको दिवसका दिन काठमाण्डौ महानगरपालिकाले सङ्घीय प्रशासनिक सचिवालय रहेको सिंहदरबारभित्रका क्यान्टिनहरुबाट चार जना बालश्रमिकलाई उद्धार गरेको छ । १८ वर्षमुनिका २ जना बालक र २ जना बालिकालाई उद्धार गरिएको महानगरले जनाएको छ ।

चार जनामध्ये २ जना बालिकालाई सेन्ट्रल क्यान्टिनका रुपमा सञ्चालन भएको ठाउँबाट, १ जना बालकलाई उद्योग मन्त्रालयको क्यान्टिनबाट र अर्को १ जना बालकलाई उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको क्यान्टिनबाट उद्धार गरिएको बाल कल्याण अधिकारी शान्ता पहाडीले जानकारी दिनुभयो ।

महानगरपालिकाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको समन्वय खोजतलास सेवा (१०४), नेपाल प्रहरी, महानगर प्रहरी, वडा कार्यालयका प्रतिनिधि, राष्ट्रिय बाल कल्याण परिषदका प्रतिनिधिसहित सरोकारवालासहितको टोली बनाएर जोखिममा रहेका, शोषण तथा दुर्व्यवहार भोगिरहेका बालबालिकालाई उद्धार गर्ने गरेको छ ।

यसअघि १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकाको उद्धार गरेर अस्थायी संरक्षण गृहमा राखिएको छ । मेयरको सचिवालय सदस्य धिरज जोशीकाअनुसार उद्धारपछि उनीहरुले श्रममा भोग्नु परेका समस्याहरू सुन्ने, मनोपरामर्श प्रदान गर्ने, स्वास्थ्य उपचार गर्ने र आवश्यक परेमा कानुनी सहायता दिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web