(अखिल समाजवादी)को शिक्षालय सुधार अभियान सुरु, बट्टार क्याम्पस सरसफाई गरेर चिटिक्क बनाइयो

बट्टार । नेपाल कम्युनिष्ट पाटी (नेकपा)को विद्यार्थी संगठन (अखिल समाजवादी) नुवाकोटले शिक्षालय सुधार तथा संगठन विस्तार अभियान २०८१ आजदेखि सुरु गरेको छ । नुवाकोटको बट्टार स्थित नुवाकोट आदर्श वहुमुखी क्याम्पसबाट शिक्षालय सुधार तथा संगठन विस्तार अभियानको सुरुवात गर्दै विभिन्न रणनीतिक तथा रचनात्मक गतविधि थालिएको छ ।

आइतबार आयोजित शिक्षालय सुधार तथा संगठन विस्तार अभियानको शुभारम्भ गर्दै नेकपा नुवाकोटका इञ्चार्ज श्रृजनले विद्यार्थी रचनाको खानी भएकाले परिवर्तन विद्यार्थीबाटै सम्भव रहेको बताउनुभयो ।

उहाँले देशको कणधारदेखि राजनीतिको लागी नर्सरीको रुपमा रहेको विद्यार्थीको जोश, जागर र श्रृजनात्मक कार्यलाई शिक्षालय सुधार र संगठन विस्तारको रुपमा जोड्न लागेको उहाँले स्पष्ट पार्नुभयो । शिक्षालय सुधार तथा संगठन विस्तार कार्यक्रम अन्तरगत बट्टार क्याम्पसमा शिक्षालय सुधारका सम्बन्धमा विद्यार्थीबीच अन्तरक्रिया तथा छलफल गरिएको छ भने क्याम्पस परिसर एंव हाता क्षेत्रको सरसफाई गरिएको छ ।

अखिल (समाजवार्दी) नुवाकोटको आयोजनामा गरिएको बृहत्त सरसफाई कार्यक्रमको सभापति जिल्ला अध्यक्ष विवेक सी हुनुहुन्थ्यो भने अतिथीहरुमा नेकपा नुवाकोटका सेक्रेटरी आरपी सी, (अखिल समाजवादी)को केन्द्रीय सचिवालय सदस्य तथा धादिङ र रसुवा इञ्चार्ज मेघेन्द्र सी, नुवाकोट इञ्चार्ज रोजी सी लगायत नेकपा पाटी र विद्यार्थी संगठन (अखिल समाजवादी)को विभिन्न जिम्मेवारीमा रहेकाहरुको सहभागिता रहेको थियो ।

शिक्षालय सुधार तथा संगठन विस्तार कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य उपस्थितीमा बृहत्त सरसफाई कार्यक्रम मार्फत क्याम्पस परिसर, हाता क्षेत्रको सरसफाई गरेर चिटिक्क बनाइएको छ ।

(अखिल समाजवादी)को केन्द्रीय कार्यक्रम अन्तरगत गत जेठ ११ बाट देशभर एकैसाथ सुरु भएर चार महिनासम्म चल्ने उक्त कार्यक्रममा नुवाकोटका सबै शैक्षिक सँस्थामा पुगेर शिक्षालय सुधार तथा संगठन विस्तार अभियान २०८१ लाई सफल बनाउन लागिएको हुदाँ शिक्षा क्षेत्रका सरोकारवालाहरु सबै पक्षलाई साथ दिनको लागी आह्वान गरिएको (अखिल समाजवादी)को नुवाकोट इञ्चार्ज रोजी सीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

TOP