विदुर नगरपालिकाले नुवाकोटको कुमारीलाई नयाँ घर बनाइदिने

जेष्ठ १९, २०८१ मा प्रकाशित | 1295 views


नुवाकोट । विदुर नगरपालिकाले नुवाकोटको कुमारीको लागी नयाँ घर बनाइदिने भएको छ । धर्म, सँस्कृति तथा परम्पराको संरक्षण कार्यक्रम अन्तरगत कुमारीको लागी आफ्नै घर बनाउन लागिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अनुसार आगामी आर्थिक वर्षको लागी बजेट सुनिश्चित गरेर जिवित देवीको रुपमा सम्मानित कुमारीको लागी घर बनाउन लागिएको हो । नगरप्रमुखमा निर्वाचित भएसगैँ श्रेष्ठले विभिन्न स्थानमा रहेका सँस्कृति, परम्परा, जात्रा तथा पर्वको संरक्षण र सञ्चालनमा चासो देखाउदै आउनुभएको छ ।

सोही क्रमममा सेवा,सुविधाबाट बञ्चित र प्रचारप्रसारको अभावले ओझेलमा पर्नुभएको नुवाकोट कुमारीको लागी नगरप्रमुख श्रेष्ठले कुमारी घरको निर्माणको योजना बनाउनुभएको हो । घर निर्माणको लागी मौलिक पहिचान र परम्परागत तथा पुरातात्विक स्वरुपमा निर्माण गरिने भएकाले आवश्यक रकम नगरपालिकाले उपलब्ध गराउने तयारी गरेको हो । नुवाकोटको कुमारीको रुपमा अहिले दिनिशा डंगोल हुनुहुन्छ ।

जीवित देवी कुमारीको महत्व धार्मिक, सांस्कृतिक र पर्यटकीय तीनवटै पक्षबाट महत्वपूर्ण भएपनि सोही अनुसार प्रचारप्रसारको अभावमा रहेको नुवाकोट कुमारीको लागी नगरपालिकाले घर बनाएपश्चात कुमारीको महिमा अझै उच्च हुने नुवाकोट दरबार मौला अमालका द्धारे महेन्द्रकुमार शाहीले बताउनुभयो । उहाँको अनुसार विश्वमै बालिकालाई कुमारीको रुपमा जीवित देवीका रुपमा स्थापना गरी आशिर्वाद लिने चलनले धर्म र सँस्कृति सहित आन्तरिक तथा बाह्य पर्यटकको लागी पनि आकर्षण हुने विश्वास गरिएको छ ।

काठमाडौ, भक्तपुर, ललितपुरका कुमारीको महत्व र महिमाको प्रचारप्रसारले उच्च महिमा रहेको छ । सोही अनुसार नुवाकोको कुमारीको लागी पनि नगरपालिकाले नयाँ घर निर्माण गरेसगैँ उहाँप्रतिको सम्मान, पूजाआरधना र महिमा उचाईमा पुराउन सकिने विश्वास लिइएको छ ।
कुमारीको लागी दैनिक जनजीवन सहज बनाउन विदुर नगरपालिकाबाट मासिक रुपमा खर्च उपलब्ध गराउदै आएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

नुवाकोट कुमारीको महत्व भैरवी वर्ष बन्धन लगायत भैरवीदेवी मन्दिर र यसआसपासमा मनाइने जात्राहरुमा निकै उच्च रहेको छ । कुमारीबाट जल ग्रहण गरेर नुवाकोटको धामी हरिमानसिंह डंगोलले स्नान गरेपश्चात मात्रै धार्मिक गतिविधि अघि बढ्ने भएकाले कुमारीबाट नै जात्राको शुभारम्भ हुने गरेको छ ।

  • रामहरि न्यौपाने

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web