
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी लाइन उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका मेयर रेनु दाहाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज संयुक्त रुपमा सबस्टेसन तथा प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भरतपुर महानगर क्षेत्रमा भइरहेको तीव शहरीकरणका कारण बढिरहेको विद्युत् मागलाई सम्बोधन गर्न ३३ केभीको रिङमार्फत् १२३ केभी सबस्टेसनमा जोड्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।
देवनगर सबस्टेसनबाट भरतपुर महानगरपालिका ५, ६, ८, ९, १३, १४, १५, २२ र २३ नम्बर वडामा विद्युत आपूर्ति दिइएको छ । गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म झण्डै साढे ९ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ ।
देवनगर सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ११ केभीका ४ वटा फिडरहरु निकालिएका छन् । देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति हुँदा भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेमबस्ती, शिवनगर, फुलबारी, गितानगर, पटिहानी, सितामाई क्षेत्रका उपभोक्ताले बेहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान हुनेछ ।
25.01¡ÆC