
काठमाडौँ । बागमती प्रदेश सभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम शनिबार चयन गरिँदै छ । आज बस्ने प्रदेशसभा बैठकमा सभापतिको नाम निर्णायार्थ प्रस्तुत गरिने भएको छ ।
विषयगत समितिको सभापति चयन गर्न सभामुख भूवनकुमार पाठकले बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गरेका छन्। सभापति पदका लागि मनोनयन दर्ता सकिएको र आजको बैठकमा ती नाम निर्णायार्थ प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए।
प्रदेशसभाको पाँच वटा विषयगत समितिमध्ये चार समितिको सभापतिका लागि शुक्रबार मनोनयन दर्ता भएको छ । सार्वजनिक लेखा समिति र प्रदेश मामिला समितिको सभापति पदमा नेपाली कांग्रेसको तर्फबाट क्रमशः श्रीराम लामिछाने र छिरिङ दोर्जे लामाले मनोनयन दर्ता गराएका छन्।
यस्तै कृषि, शिक्षा, स्वास्थ्य समितिको सभापतिका लागि नेकपा माओवादी केन्द्रका तर्फबाट ठाकुरप्रसाद ढकाल र अर्थ तथा विकास समितिको सभापतिका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नुरज बज्राचार्यले मनोनयन दर्ता गराएको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेशसभाअन्तर्गतको उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति पदमा भने कुनै उम्मेदवारी नपरेको प्रदेश सभा सचिवालयले जनाएको छ। यो समितिको सभापति नेकपा एमालेलाई दिने सहमति दलहरुबीच भएको बताइएको छ।
यस्तै प्रदेश सभाअन्तर्गतको विशेष समिति गठन गर्ने सहमति भएको सचिव दर्जीले बताए।
25.12¡ÆC