बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना

चैत्र २२, २०८० मा प्रकाशित | 245 views


नुवाकोट । नुवाकोटको म्यागङ गाँउपालिकाको आयोजनामा ‘बागमती प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता’ हुने भएको छ ।

म्यागङ गाँउपालिका–५ सामरी स्थित मैदानमा आगामी बैशाख ७–१२ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको म्यागङ गाँउपालिका अध्यक्ष आशा तामाङले जानकारी दिनुभयो । उहाँको अनुसार ‘भलिबल खेलाडीको पहिचान तथा प्रवद्र्धन ः खेल, खेलाडी र क्षमताको संरक्षण’को मुख्य नाराको साथ खेल पर्यटन भित्र्याउने उद्देष्यले प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा प्रथम हुने पालिकाले रु.तीन लाख तीन हजार तीनसय ३३ र दोश्रो हुने पालिकाले रु दुई लाख दुई हजार दुईसय २२ प्राप्त गर्नेछ । यस्तै, तेश्रो हुने पालिकाले रु.पचास हजार पाचसय ५५ र सान्त्वना पुरस्कार रु. २५ हजार पाचसय २५ सहित ट्रफी र मेडल राखिएको उपाध्यक्ष सिता तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार भलिबल खेल सम्बन्धि प्रचलित निमय अनुसार राष्ट्रिय मान्यताप्राप्त रेफ्रि मार्फत सञ्चालन गरिने प्रतियोगितामा सहभागी हुने पालिकाले तीन जनासम्म पालिका बाहिरका खेलाडी समेत समावेश गराउन पाइने नियम बनाएको छ ।

प्रतियोगिताको संयोजक एवम् म्यागङ गाँउपालिकास्तरीय युवा क्बलका अध्यक्ष बिजय गुरुङको अनुसार पालिकामा रहेका खेलाडीको क्षमता बृद्धि गराउन र अनुभव साटासाटको लागी समेत सहयोग पुग्ने उद्देष्यले तीनजना देश तथा विदेशका जो कोही खेलाडीलाई समावेश गराउन पाउने नियम राखिएको हो ।

प्रतियोगितामा सहभागी हुन बागमती प्रदेशका एकसय १९ वटै पालिकालाई आगामी बैशाख ७ गतेसम्म टिम दर्ताको लागी आह्वान गरिएको छ । प्रतियोगिता मार्फत खेल र खेलाडीलाई प्रोत्साहन सहित म्यागङमा खेल पर्यटन भित्र्याउने लक्ष्य लिइएको गाँउपालिका अध्यक्ष आशा तामाङको भनाई छ ।

“प्रतियोगिता मार्फत नयाँ खेलाडीको उत्पादन, उदयमान खेलाडीलाई हौसला सहित अहिलेका खेलाडीको क्षमता बृद्धिमा सहयोग पुग्ने विश्वास गरेका छौ ।” अध्यक्ष तामाङले भन्नुभयो “पाच दिनसम्म चल्ने प्रतियोगितामा सहभागी खेलाडी र खेल अवलोकनको लागी २० हजार दर्शकले म्यागङको भ्रमण गर्ने हुदाँ एक करोड बराबरको स्थानीय उत्पादनको कारोबार गर्ने लक्ष्य छ ।”

म्यागङ गाँउपालिका तामाङ भाषा, धर्म र सभ्यताको अध्ययनको लागी तथा कृषि र पशुपालनको लागी प्रसिद्ध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web